जावेद अन्सारी
बाँके साउन २९ गते । जनै पूर्णिमा अर्थात रक्षा बन्धनले हिजोआज नेपालगन्ज नगर झिलीमिलीका साथ सजिएको छ । स्थानिय नगरमा अहिले रक्षा बन्धनको लागि बजारभर दाई भाईको हातमा बाँधिने (राखि)को पसलले सबै पसल रंगिएका छन् ।
मधेस क्षेत्रमा अत्यधिक रुपमा ठुलो चाड मानिने भएकोले रक्षा बन्धनको लागि स्थानिय नगरको त्रिभुवन चोक र धम्बोझी चोकमा सडकमा घुम्टी पसल राखेर दाई भाईको नारीमा लगाइने डोरीले नगरलाई सजाइएको छ ।
रक्षा बन्धनको पुर्व सन्ध्यामा दिदी बहिनीहरुले आ–आफ्ना दाईभाईको लागि हातमा लगाउने डोरी खरिद गर्नुको साथै मिष्ठान भोजन खरिद गर्न बुधबार साँझ घुइचो समेत लागेको छ ।
मधेस जिल्लामा खास गरी मधेसी समुदायले बडो धुमधामका साथ मनाइने रक्षा बन्धनको चाड हिजोआज पहाडी समूहले मनाउँदै आइरहेको पाइएको छ ।
रक्षा बन्धनको दिनमा स्थानिय ब्रम्हकुमारीमा पनि स्थानिय युवादेखि नेतासम्म हातमा डोरी बाँध्न पुग्ने गर्छन भने हातमा डोरी बाँध्न आउनेलाई मिष्ठान भोजन समेत खुवाउने परम्परा रहेको छ ।
बिहिबार अर्थात जनैपूर्णिमा जनै फेर्ने दिन भएकोले पनि स्थानिय बागेश्वर मन्दिरमा नयाँ जनै लगाउने तथा हातमा डोरी बाँध्नेको उल्लेखीय भिड समेत लाग्ने गरेको पाइन्छ ।
Discussion about this post