सर्लाही असार १३ गते ।
सर्लाहीको लालबन्दीमा हजारौंको संख्यामा सलह कीरा देखिएका छन् । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा झन्डै हजारको हाराहारीमा सलह भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र (मलंगवा) का निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिएका छन् । तेलबाली अनुसन्धान कार्यक्रममा लगाइएका विभिन्न बालीमा सलह कीरा देखिएका हुन् ।
‘आज फिल्ड भिजिट गर्ने क्रममा बदाम, घैँचा, धानको बेर्नालगायतमा सलह कीराले झ्याप्पै छोपेको देखियो,’ तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा. विशेश्वरप्रसाद यादवले जानकारी दिएका छन् । शुक्रबार राति छिमेकी देश भारतबाट झन्डै हजार फट्याङ्गराजस्ता देखिने सलह नेपाल प्रवेश गरेको बुझिएको’ उनले बताएका छन् ।
जिल्लाका किसान चिन्तित बनेका छन् । फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाका इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको केन्द्रले जनाएको छ । सलह कीराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्याउने जानकारले बताएका छन् ।
विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह कीरा एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउने विज्ञले बताएका छन् ।
प्राविधिक टोली खटिएको छ, त्यसको क्षेतिको प्रकृति जातलगायतबारे चाडैँ पत्ता लगाउने उनले बताए । सलह कीराको जातको पहिचान र व्यवस्थापनलगायत काममा प्राविधिक टोली परिचालन भएको जनाएको छ ।
Discussion about this post