बुटवल असार १४ गते ।
शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’
नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे ।
लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झोलामा हालेर ल्याएको सलह साढे ३ किलो रहेछ ।
बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजुली भन्छन्, ‘पानी परेपछि रुखमा बास बसेका सलह भुइँभरि खसेको थियो, बढारेर थुप्रो लगाउन सकिन्थ्यो । केटाकेटीहरुले टिपेर ल्याएका रहेछन् ।’ पराजुलीले अच्युत र सबिनाले ल्याएको सलह किनिदिनु भनेर सिफारिस बनाएर उपमहानगरपालिकाको कार्यालयमा पठाए ।
वडाको सिफारिसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिएको उपमहानगरका वरिष्ठ अधिकृत तथा आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिए । सलह भने कुखुरापालक किसानलाई दिइएको छ ।
वडा नम्बर ४ का वडाध्यक्ष पराजुलीकाअनुसार जम्मा भएको सलह सय रुपैयाँ किलोका दरले किन्छौं भन्दै केही व्यक्तिले सम्पर्क समेत गरेका थिए । ‘मासु खानेहरुले किलोको सय रुपैयाँसम्म दिन्छु भन्दै मागेका थिए’ उनले भने ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post