बाँके असार १७ गते ।
पोल गाडेको २२ वर्षपछि बाँकेको नरैनापुरमा बत्ती बलेको छ। सधैं अन्धकारमा बस्दै आएका नरैनापुरवासीले मंगलबारदेखि बत्ती बाल्न पाएका हुन् ।
प्रदेशसभा सांसद कृष्णा केसीले कट्कुइँयास्थित ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक रुपमा बत्तीको उद्घाटन गरिन् । विभिन्न बाधा, व्यवधान र अप्ठेराका बीच कछुवा गतिमा अघि बढेको विद्युतीकरण कोरोना कहरसँंगै तीब्र बनेको थियो।
कोरोनाको हटस्पट बन्दा विजुली नहुँदाको पीडा भोगेको नरैनापुरमा तत्काल विद्युत लैजानुपर्ने दबाबका बीच पछिल्लो समय तीब्र गतिमा काम भएको थियो । जेठको पहिलो साताबाट थालिएको पहलले एक महिनामै मूर्तरुप पाउँदा नरैनापुरमा बत्ती बलेको हो ।
प्रदेश सांसद केसीले नरैनापुरमा विजुली बल्दा अत्यन्त हर्षित भएको बताइन् । उनले पक्की सडक र विजुली पुगेपछि अब नरैनापुर दुर्गम नरहेको दावी गरिन् ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बर्षौंदेखिको नरैनापुरबासीको विजुली बाल्ने सपना पूरा भएकाले अब उद्योगधन्दाको विकास हुने बाटो खुलेको बताए।
उनले लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि अब अस्पतालका रुपमा विकास गरी सेवा सुविधासम्पन्न बनाउन सहज हुने बताए ।
क्षेत्रीय विद्युत प्राधिकरण केन्द्र, नेपालगञ्जका प्रमुख मुनिन्द्र ठाकुरले विजुली नहुँदा कोरोना कहरमा नरैनापुरले भोगेको पीडा देखेर आफूले लकडाउनकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताए।उनका अनुसार, जेठ दोस्रो सातादेखि मटेहियाबाट कट्कुइँयासम्म पोल गाड्ने र तार तान्ने काम शुरु गरेर सम्पन्न गरिएको हो।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेकपाका जिल्ला सचिव अशोक कोइरालाले कोरोनाबाट मुक्ति पाएको नरैनापुरमा नयाँ युगको सुरुवात भएको बताए।
Discussion about this post