फाइल फोटो
गुल्मी असार १९ गते ।
गुल्मीको इस्मा गाउँपालिकामा गएको पहिरोमा परी एकजना १८ महिनाका बालकको मृत्यु भएको छ । अरु २ जना बेपत्ता भएका छन् भने पहिरोमा च्यापिएका ४ जना गम्भीर घाइते भएका छन् । इस्मा गाउँपालिका १ हस्तिचौरका वसन्त सारुका १८ महिनाका छोरा सिजन सारुको पहिरोले च्यापेर मृत अवस्थामा फेला परेको वडासदस्य जंगबहादुर खत्रीले जानकारी दिए ।
उनकी श्रीमती सिर्जना सारु पहिरोमा पुरिएर गम्भीर घाइते भएकी छिन् । उनी अचेत रहेको खत्रीले बताए । पहिरोमा पुरिएर स्थानीय जंगबहादुर खत्रीकी ७ वर्षकी छोरी अपेक्षा खत्री बेपत्ता भएकी छिन् । पहिरोले हस्तीचौरकै रिख बहादुर खत्रीको घर बगाएको छ । उनकी श्रीमती इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ ।
उनको अवस्था गम्भीर रहेको वडा सदस्य खत्रीले जानकारी दिए । पहिरोमा परेका खत्रीकी हजुरआमा पुतला खत्री, बुवा टीका खत्री र आमा घाइते छन् । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको वडाध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिए ।
पहिरोले गाउँ–गाउँबीचकै सम्पर्क टुटेको र अरु मुल सडक समेत अबरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
Discussion about this post