बाँके असार २६ गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारतको उत्तर प्रदेश सरकारले तीन दिनका लागि पूर्ण लकडाउनको घोषणा गरेको छ ।
कोरोना भाइरस रोकथामका लागि भन्दै प्रदेश सरकारले १० जुलाई अर्थात् असार २६ गते आजराती १० बजेदेखि १३ जुलाई असार २९ गते विहान ५ बजेसम्मका लागि लकडाउनको घोषणा गरेको हो ।
नेपालगञ्जको भारतीय सीमावर्ती जिल्ला बहारइचअन्तर्गत आदर्श थाना रुपईडिहाले शुक्रवार जारी गरेको सूचनाअनुसार उक्त अवधिमा आवश्यक सेवाबाहेक हाटबजार, पसल निजी सवारी साधन र सामान्य आवागमनमा समेत प्रतिबन्ध लगाइएको छ ।
रुपईडिहा थानाका प्रभारी निरीक्षकद्वारा हस्ताक्षरित सूचनामा प्रदेश शासनको आदेशानुसार चिकित्सा सेवा, मेडिकल स्टोर, रोडबेज बस आदि पूर्ववत् रहने उल्लेख छ । लकडाउन अवधिभर सर्वसाधरणलाई घरमै बस्न, सामाजिक दुरीको पालना गर्न, मास्क लगाउन, स्यानिटाइजर साबुनको प्रयोग गर्नुका साथै सरसफाईमा ध्यान दिन सूचनामार्फत आग्रह गरिएको छ ।
Discussion about this post