बर्दिया साउन १३ गते ।
बर्दियाको क्वारेन्टिनमा बसेका बेला आत्महत्या गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।अछाम घर भएका ती व्यक्ति भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ आएका थिए ।
ती आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टिनमा राखेको थियो ।आइतबार राति आफूले ओछ्याउने तन्नाको पासो लगाई उनले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए ।
उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जानकारी दिए ।पीसीआर रिपोर्ट नआउँदासम्म उनको शव झुन्डिएकै अवस्थामा थियो । रिपोर्ट आइसकेपछि उनको शव सेनाले व्यवस्थापन गरेको छ ।
Discussion about this post