काठमाडौ भदौ ३१ गते ।
संयूक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँगको आफ्नो सम्बन्धलाई सामान्य बनाउने एउटा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’नयाँ मध्यपूर्वको सुरूवात’ भनेर तारिफ गरेका छन्।
’दशकौंको विभाजन र संघर्षपछि आज हामीले एउटा नयाँ मध्यपूर्वको सुरूवात गरेका छौं। इजरायल, संयूक्त अरब इमिरेट्स र बहराइनका मानिसहरूलाई बधाई। ईश्वरले तपाईंहरू सबैको भलो गरून्!’, मध्यपूर्व सम्झौताको एक भिडिओ सेयर गर्दै उनले लेखेका छन्।
’आज यो प्रहरमा हामी यहाँ इतिहास बदल्न आएका छौं। इजरायल, युएई र बहराइनले एकअर्कोमा दूतावास बनाउनेछन्, राजदूत नियूक्त गर्नेछन् र सहयोगी देशका रूपमा काम गर्नेछन्। अब उनीहरू मित्र हुन्’,ट्रम्पले मंगलबार सम्झौताको कार्यक्रममा सहभागी हुन ह्वाइट हाउस पुगेका मानिसहरूलाई सम्बोधन गर्दै भने।
प्यालेस्टाइनले भने सम्झौतामाथि आपत्ति प्रकट गरेको छ। उसले इजरायलसँगको विवाद हल नभएसम्म अरब देशहरूले पर्खनुपर्ने प्रतिक्रिया दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै देशबीचको समस्या हल गर्न जनवरीमा मध्यपूर्व शान्ति योजना पेस गरेका थिए।
मंगलबार सम्झौतामा हस्ताक्षर गरेसँगै युएई र बहराइन सन् १९४८ मा इजरायललाई देशको मान्यता दिने तीनौ अरब र विश्वको चारौं राष्ट्र बनेका छन्।
गत महिना युएई इजरायलसँगको सम्बन्ध सामान्य गर्न सहमत भएको थियो। त्यसपछि बहराइनले पनि यस्तै गर्ने अनुमान गर्दै आइएको थियो।
सम्झौतापछि अमेरिकी राष्ट्रपति ट्रम्पले बाँकी अरब देशहरू पनि यही दिशामा अगाडि बढ्ने आशा व्यक्त गरेका छन्।
सम्झौतालाई ट्रम्पको कुटनीतिक उपलब्धि मानिएको छ र यसले उनलाई दोश्रो पटक राष्ट्रपति बन्न सहयोग गर्ने ठानिएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सम्झौताको स्वागत गरेका छन्।
’आज इतिहासले कोल्टे फेर्ने दिन हो। यसले शान्तिको नयाँ बिहानी ल्याउनेछ’, उनले भने।
तर प्यालेस्टाइनका नेता महमूद अब्बासले मध्यपूर्वमा इजरायलले कब्जा गरेको ठाउँबाट हटेमा मात्र शान्ति आउने बताएका छन्।
’मध्यपूर्वमा शान्ति, सुरक्षा र स्थिरता तबमात्र आउनेछ जब यहाँ इजरायलको कब्जा सकिनेछ’, उनले भने।
इजरायलको सेनाले सम्झौताको हस्ताक्षर चलिरहेका बखत गजापट्टीबाट इजरायलतर्फ दुईवटा रकेट प्रहार भएको जनाएको छ। एजेन्सी
Discussion about this post