कञ्चनपुर असोज २६ गते ।
कञ्चनपुरको कृष्णपुर २ बाणीका स्थानीयले हात्ती हिँड्ने जैविक मार्ग संरक्षणमा प्रतिवद्धता व्यक्त गरेका छन्। सामुदायिक वन समन्वय समिति कञ्चनपुरको पहलमा हात्ती संरक्षणका लागि आयोजना गरिएको कार्यक्रमका सहभागीहरूले हात्तीको जैविक मार्गसँगै बासस्थान संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।हात्तीले महाकाली जनहित सामुदायिक वनमा छावा जन्माएपछि हात्ती संरक्षणका लागि संरक्षणकर्मीहरू एकजुट भएका हुन्।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले प्रदेशका नागरिककै हितका लागि वन, पर्यावरण र वन्यजन्तुको संरक्षण गर्नुपर्ने बताए। वन्यजन्तु र जैविक विविधता संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीयको प्रयासबाट कृष्णपुर सिस्ने क्षेत्रमा हात्तीले छावा जन्माउन थालेको बताए। उनले भने, ‘केही समयअघि सो वन क्षेत्र उजाड भूमि जस्तै थियो,‘ उनले भने, ‘अहिले त्यहाँ लोपोन्मुख विजयसालको वन संरक्षण भएको छ।
वन भएकै कारण हात्तीले बासस्थान बनाएको छ।’ कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले जैविक मार्गमा अवरोध आउँदा हात्तीले बस्तीमा छिरेर नोक्सानी पु¥याउँदै आएको बताए। जैविक मार्ग संरक्षणका लागि हात्तीले नोक्सान नगर्ने जडिबुटी लगायतका खेती गर्न सकिने उनले बताए।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक भीमराज विष्टले हात्ती सामाजिक प्राणी भएकाले समूहमा हिँड्न मन पराउने बताए। ’हात्ती निश्चित बाटोमा मात्रै हिँड्छ,’ उनले भने, ’अवरोध भए रिसाउँछ। हिँड्ने बाटोको अवरोध आफैँले हटाउँदा धनजनको क्षति गर्छ।’ प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाइने भएको छ। कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा हात्तीले छावा जन्माएपछि वन समन्वय समितिले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने निर्णय गरेको हो।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले सामुदायिक वनका पदाधिकारीहरूले असोज २२ गतेलाई हात्ती दिवस मनाउने निर्णय गरेको बताए। ‘यो मार्ग हात्तीलगायत जंगली जनावरको बासस्थान हो,’ उनले भने, ‘यस वर्ष हात्तीले यो क्षेत्रमा छावा जन्माएको छ, त्यसैले अब प्रत्येक वर्ष हात्ती दिवस मनाउँछौँ।’
लालझाडी जैविक मार्ग हात्तीको बासस्थान बनेको उनी बताउँछन्। ‘यहाँका सामुदायिक वनका साथीहरूले वन संरक्षणमा जोड दिएका छन,’ उनले भने, ‘आगामी दिनमा पनि हामी वन संरक्षणमा जोड दिनेछौँ।’
Discussion about this post