बर्दिया कार्तिक १८ गते ।
प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीलाई यातायात खर्च बापत मासिक १२ हजार रुपैयाँ पाउने निर्णय गरेपछि बर्दियामा जनप्रतिनिधिहरुले धमाधम मोटरसाइकल फिर्ता गर्न थालेका छन् ।
यसअघि पालिकाहरुले जनप्रतिनिधिलाई यातायात सुविधाका लागि मोटरसाइकल र स्कुटी खरिद गरेको थियो ।गत असारमा प्रदेश सरकारले सवारी साधन नभएकालाई मासिक १२ हजार रुपैयाँ यातायात खर्च वापत दिने निर्णय गरेपछि सवारीसधानहरु फिर्ता हुन थालेको मधुवन नगरपालिकाका प्रमुख गणेश केसीले बताए ।
यसअघि सवारीसाधन खरिद गर्न दबाब दिएका जनप्रतिनिधिहरुले यातायात खर्च बापत रकम पाउने भएपछि धमाधम फिर्ता गर्न थालेका हुन् । मधुवनमा हालसम्म ११ वटा मोटरसाइकल फिर्ता भएको नगर प्रमुख केसीले जानकारी दिए ।बारबर्दिया नगरपालिकामा १२ वटा मोटरसाइकल जनप्रतिनिधिले फिर्ता गरेको नगर प्रमुख दुर्गाबहादुर थारुले बताए ।
यसैगरि गुलरिया,राजापुर लगायत जिल्लका ८ पालिकाका जनप्रतिनिधीले सवारी साधन फिर्ता गर्न थालेका छन् ।घरमा निजी मोटरसाइकल भएका जनप्रतिनिधिले सुविधाका सवारी साधन प्रयोग गर्दै आएका थिए । यातायात खर्च पाउने भएपछि सुविधाका सवारी साधन फिर्ता गर्न थालेका हुन् । गुलरिया नपाका लेखा प्रमुख रुप सिंह खत्रीले सवारी साधन फिर्ता गरेका जनप्रतिनिधिलाई यातायात खर्च उपलब्ध गराउन थालिएको बताए ।
Discussion about this post