बाँके कार्तिक १८ गते ।
दर्शै मनाएलगत्तै भारत पस्नेको नाकामा भीड लाग्न थालेको छ । गाउँमा छाक टार्नै मुस्किल हुन थालेपछि पश्चिम पहाडका बासिन्दा कोरोना महामारीकै बीच रोजगारीको खोजीमा हुलका हुल भारत जान थालेका छन् । भारत जानेहरूलाई व्यवस्थापन गर्न बाँकेको जमुनाह नाकामा खटिएको प्रहरीलाई समेत गाह्रो भएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज विष्णु गिरीका अनुसार दैनिक एक हजारको हारामारीमा नेपालीहरु भारत पसिरहेका छन्। अहिलेसम्म ८१ लाख संक्रमित भएको भारत विश्वको दोस्रो प्रभावित देश हो, तर दुस्खसुख दसैँ मनाएका नेपाली आर्थिक दसा टार्न भारत पस्दै छन् ।
एकैपटक ठूलो भिड नाकामा पुगेपछि व्यवस्थित गर्न प्रहरीलाई पनि सकस परेको हो । लुम्बिनी प्रदेशका पूर्वी रुकुम, दाङ, प्युठान, रोल्पा, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सर्वसाधारण जमुनाह नाका भएर भारत जाने गरेका छन् ।
लामो समयदेखि बेरोजगार बस्दा परिवारको हातमुख जोड्नै गाह्रो भएपछि बाध्य भएर भारत जानुपरेको गुनासो उनीहरूको गुनासो छ । दसैँअघि भारतले आधार कार्ड भएकालाई मात्र नाकाबाट प्रवेश दिएको थियो । तर, अहिले भने आधार कार्ड नभएकालाई समेत प्रवेश गर्न दिइरहेको छ ।
जसले गर्दा नाकामा थामिनसक्नु भिड लागेको छ । भारतमा कोरोेना महामारीले भयावह रूप लिइरहेकाले त्यसतर्फ नजान सम्झाउँदा उल्टै झर्किने गरेका छन् । उपचार, औषधि खरिद, बिरामी भेटघाट र मलामी जान भने दुवै देशका नागरिकलाई सीमामा आउजाउ गर्न सहुलियत दिएको प्रहरीले जनाएको छ ।
Discussion about this post