तनहुँ कार्तिक १८ गते ।
पहाडकी रानी’ को नामले परिचित तनहुँको पर्यटकीय स्थल बन्दिपुरमा चिनको ग्रेडवाललाई सम्झाउने गरि उस्तै प्रकृतिका मिनिग्रेट वाल (मणि मुकुन्देशवरी पर्खाल) निर्माण गरिएको छ ।पर्यटकीय गतिविधिलाई थप बृद्धी गर्नका लागि बन्दिपुर गाउँपालिकाको आर्थिक सहयोगमा ग्रेटवाल निर्माण भईरहेको हो । विश्व प्रसिद्ध चिनको ग्रेटवाल जस्तै देखिने यो आयोजनालाई तनहुँको ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
पर्खाल बन्दिपुर गाउँपालिका २ थानिमाई मन्दिरदेखि मुकुन्देश्वरी डाँडासम्म झण्डै चार किलोमिटरको लम्वाईमा बन्ने जनाइएको छ । । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण पछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिईएको छ ।आवश्यक बजेटका लागि पहल भईरहेको जनाउदैे अध्यक्ष थापाले हालसम्म एक हजार एक सय मिटर लम्वाई पर्खाल लगाउने काम सकिएको बताउनुभयो । गाउँपालिकाका अनुसार उक्त आयोजनाका लागि हालसम्म ७० लाख रुपैयाँ बजेट खर्च भएको छ ।
पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले आर्कषण लागेको स्थानीहरुले बताउने गरेका छन् । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई पर्यटकीय क्षेत्रको केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।मिनिग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकोले कोभिड –१९ को महामारीको समय पछि बन्दीपुरमा पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुहुन्छ ।
गमुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको रहेको ऐतिहासिक तथ्य रहेको छ । मिनि ग्रेटवाल भित्र रहेको पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाईने बन्दीपुर गाउँपालिकका अध्यक्ष थापाले बताउनुभयो । ‘टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाहरुहरुले पनि रोजगार पाउने गरी दोहोरो फाईदा हुने विश्वासमा मिनिग्रेटवाल निर्माण गत वर्ष देखि शुरु गरिएको हो ।गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागवेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ ।
जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरीदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमाल देखि पूर्वका गणेश हिमाल र टाङटाङ, हिम श्रृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ ।प्रमुख आर्कषण दोहोरो लाईन मिलाईएका ढुङ्गाले छाईएका कलात्मक घर, नेवारी सस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहिद पार्क लगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् ।बजार वरपर गुृरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ ।
Discussion about this post