काठमाडौं मंसिर २६ गते ।
चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी बिओपीका सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ। हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ ।
केही दिन अगाडि परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सीमा सुरक्षाचौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए। उनको नेतृत्वमा गस्ती टोलीले विकट क्षेत्र र लिमीतर्फ सीमास्तम्भको निरीक्षण गर्ने गरेको छ भने नारातर्फ नेपालपट्टि पनि अनुगमन गर्ने गरेको छ । इन्चार्ज केसीले भने, “माइनस सातसम्म तापक्रम अहिले पुगेको छ र हिल्साका होटल व्यवसायीका अनुसार अझै बढ्ने जानकारी आएको छ । बिहान उठ्दा धारा, शौचालय, बाल्टीका पानी जमेको छ ।
पानी जमेर भएको बरफलाई तताएर मात्र पानी निकाल्न सकिने अवस्था छ ।” यस वर्ष हिमपात भइसकेका कारण सेताम्मे क्षेत्रमा पनि कुनै अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि सुरक्षाकर्मी गस्ती गर्न निस्कने गरेको केसीले बताए। चार हजार ६०० मिटर अग्लो नारालेकमा गस्तीमा आउँदा बाक्लो हिमपातमा जानुपर्ने र हावा पनि लाग्ने भएका कारण समस्या हुने गरेको छ ।
पारिपट्टि चिनियाँहरु पक्की घरमा बस्दै आएका भए पनि नेपाली सुरक्षाकर्मीलाई आफ्नै भवनमा बस्ने व्यवस्था नभएका कारण भाडाको घरमा बस्नुपरेको उनले बताए। हिल्सा कर्णाली नदीको तीरमा गहिरो खोँचमा भएका कारण हिउँदको समय घाम पनि थोरै लाग्ने गर्दछ । दिनमा एकपटक ११ बजेतिर मात्रै घाम लाग्ने गरेको उनले बताए। उनले हावा पनि त्यत्तिकै चल्ने भएको हुँदा त्यहाँ बस्ने टोलीको दैनिकी भने कष्टकर हुने गरेको बताए।
Discussion about this post