काठमाण्डाै मंसिर ३० गते ।
सरकारले उखु किसानका मागबारे दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल हुँदै छ ।
उखु किसानले पैसा पाउने ग्यारेन्टी नभएसम्म वार्तामा नबस्ने अडान राखेपछि आज छलफल गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले छलफल गर्न लागेका हुन् । तीनै मन्त्रालयका मन्त्री सहभागी हुने बैठकले उखु किसानको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्ने उद्योग मन्त्रालयका प्रवक्ता डाक्टर नारायणप्रसाद रेग्मीले बताए।
पैसा नपाउञ्जेल सडकबाट नहट्ने अडान राखेका उखु किसानले आज पनि आन्दोलन थालेका छन् । काठमाण्डौको माइतीघर मण्डलामा अघि बिहान ११ बजेदेखि सुरु भएको आन्दोलन दिउँसो ३ बजेसम्म हुने उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।
सडकमा नै उखुको बाँकी भुक्तानी नपाएसम्म घर नफर्किने उनले बताए। रकम भुक्तानीका लागि किसानले दुई सर्तअघि सारेका छन् । सरकारले निश्चित मिति तोके त्यही मितिसम्म सडकमा आन्दोलन गर्ने र पैसा पाएपछि घर फर्किने वा किसानले पाउनु पर्ने रकम कुनै सरकारी कोषबाट उपलब्ध गराएपछि उद्योगीबाट सरकारले पैसा असुल्नु पर्ने किसानको सर्त छ ।
उखु किसानले गएको आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन् । पोहोर आन्दोलनपछि रकम भुक्तानीका लागि सरकारसँग भएको सम्झौता पालना नभएको भन्दै उनीहरूले फेरि दोस्रो पटक आन्दोलन थालेका हुन् । किसानले झण्डै ८९ करोड रुपैयाँ चीनी मिलबाट भुक्तानी पाउन बाँकी रहेको दाबी गरेका छन् ।
Discussion about this post