बाँके पुस २१ गते ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलटेक्राका हवल्दार मोहन सिंह मंसिर महिनाको मैनावरी बुझाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा पुगे । महिना महिनामा अस्थायी पोष्टबाट रकम लिएर कार्यालयमा बुझाउनेलाई ट्राफिकको भाषामा मैनावरी भनिन्छ । उनले हवल्दार लक्ष्मण थापालाई मैनावरी बुझाए । लक्ष्मणले राजु भण्डारीलाई जाहेर गरे फुलटेक्राबाट ४० हजार आयो । राजु ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज हुन् । उनैको नेतृत्वमा जिल्ला ट्राफिक चलिरहेको छ । उनले तत्काल भनिदिए ४० हजार हुँदैन् ५० हजार भन्नु । लक्ष्मणले मोहनलाई भने–‘मातहतको आदेश छ फुलटेक्राले अव ५० हजार बुझाउनु पर्छ ।’ हस् भन्दै मोहन फर्किए । खोला खुलेसँगै फुलटेक्रा पोष्टले जिल्लालाई बुझाउनु पर्ने महिनावरी पनि बढेको हो ।
फुलटेक्रा पोष्टलाई ५० हजार बुझाउन दवाव दिएपछि अहिले मोहन सिंहलाई डिउटीमा भेटिन मुस्किल पर्छ । उनी टिप्पर र ट्याक्टर धनीहरुसँगको सेटिङमा व्यस्त छन्। इट्टाभट्टाका साहुसँग धाएको धाइ छन् । नेपालगन्ज महेन्द्र वहुमुखि क्याम्पस नजिकैको अस्थायी ट्राफिक पोष्ट (पहिलेको जिल्ला ट्राफिक कार्यालयमा रहेको ) ले अहिले मासिक ७० हजार महिनावरी जिल्लालाई बुझाउँछ । भारतबाट आएर नेपालमा पनि भन्सार गरेका ती गाडीहरुबाट सबैभन्दा धेरै रकम यो पोष्टले उठाउँछ । भवर लोड र ओभरलोडको कारण देखाउँदै प्रत्येक ती गाडीबाट भारतीय एकसय देखि दुई सय रुपैयाँसम्म रकम यो पोष्टलाई बुझाउँनै पर्छ । कार्यालय अगाडी डिउटीमा खटिएका ट्राफिक जवानले गाडी रोक्छन् ।
सहचालक गाडीबाट ओर्लिएर सिधै कार्यालय पुग्छन् । झ्यालबाट रकम बुझाउँछन् र फर्किन्छन् । जरिमाना गरेको कुनै प्रमाण उस्लाई दिइदैन् । (चालकसँग गरिएको कुराकानी सुरक्षित छ) यस्को पुरै सेटिङ हवल्दार तप्प थापाले गरिरहेका छन् । ‘भारतीय गाडीलाई सिधै भित्र पठाउनु भन्ने आदेश हुन्छ डिउटीमा खटिएका एकजना जवानले भने नपठाएर तप्प सर रिसाउनु हुन्छ ।’ यी त प्रतिनिधि मुलक घटना भए । जिल्ला ट्राफिकले प्रत्येक पोष्टबाट महिनावरी संकलन गर्ने गरेको तथ्य भेटिएको छ । बाँकेमा ट्राफिकका १२ वटा अस्थायी पोष्ट छन् । ती सबै पोष्टहरुबाट मासिक करिव दुई लाख रुपैयाँ कार्यालय प्रमुखले उठाउने गरेका छन् । एउटा पोष्टले कम्तिमा १० हजारदेखि ७० हजारसम्म महिनावरी जिल्लालाई बुझाउने गर्छन् । (त्यसको अडियो प्रमाण सुरक्षित छ ।) यो त अस्थायी पोष्टबाट आउने ट्राफिककै भाषामा बैधानिक बाटो हो । तर अन्यबाट आउने रकमको नालीबेली फरक छ । त्यो अर्को भागमा समेटिने छ ।
महिनावरी असुल्ने जिम्मा कस्लाई ?
जिल्लाका सबै पोष्टको महिनावरी असुल्ने जिम्मा हवल्दार लक्ष्मण थापालाई छ । लक्ष्मण ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक राजु भण्डारीका बडी गार्ड हुन् । विगत तीन वर्षदेखि लक्ष्मणले कार्यालयमा बसेर महिनावरी संकलन गर्ने र हाकिमलाई बुझाउने गर्छन् । उनी हिरेन्द्र रोकाय हुँदादेखि यो जिम्मेवारी कुशलतापूर्वक निभाउँदै आएका छन् । त्यसैको विश्वासमा पविन्द्र बमदेखि राजु भण्डारीसम्मले उनैलाई प्रयोग गरिरहेका छन् । उनको दरवन्दी सुर्खेत हो । उनी काजमा बस्दै आएका छन् । लक्ष्मणको काज फिर्ताको ताकेता अहिलेपनि विभागले गरिरहेको उच्च स्रोतले जानकारी दिएको छ । कार्यालय प्रमुखले नै लक्ष्मणको काज थमौती गर्ने गरेका छन् । किनकी महिनावरी संकलन गर्ने काममा उनी पोक्त भइसकेका छन् । जिल्लाको सबैभन्दा महंगो नेपालगन्जको अस्थायी पोष्टमा रकम असुल्ने जिम्मा हवल्दार तप्त थापाको छ ।
उनको दरवन्दी पनि जिल्ला बाहिर हो । जाजरकोट दरवन्दी भएपनि थापा काजमै बसिरहेका छन् । उनको काज फिर्ताका लागि विभागबाट ताकेता आइरहेको छ । तर मनग्य आम्दानी भइरहेपछि उनी पनि पावर लाएर लामो समयदेखि नेपालगन्जमा बस्दै आएका छन् । उनले जिल्लालाई ७० हजार बुझाउछन् । बाँकी बचेको पोष्ट इन्चार्ज र आफुले भागबन्डा गर्ने गरेको स्रोत बताउँछ । अस्थायी ट्राफिक प्रहरी पोष्ट नरैनापुरमा मैनावरी फिक्स छैन । यो पोष्ट स्थापना भएको एक साता पनि भएको छैन् । बाँकेका ट्राफिक प्रमुख राजु भण्डारीले भने पोष्टबाट महिनावरी नलिएको दावी गर्छन् । उनी भन्छन्–‘पोष्टबाट महिनावरी लिने त कुरै भएन् त्यो गरिएको पनि छैन् र कसैले गरेको पाइए कारवाही हुन्छ ।’ तर उनै भण्डारीले टिप्परबाट छुटै महिनावरी उठाइरहेको तथ्य फेला परेको छ । टिप्परधनीसँगको सेटिङमा भण्डारीले केही अस्थायी प्रहरी पोष्टमा ती टिप्परहरुको लिष्ट पठाएर कारवाही नगर्नु भनेर आदेश दिएकाका छन् ।
(महिनावरी उठाउने तरिका के हो ? कहाँकहाँबाट उठ्छ र कुन पोष्टले जिल्लालाई कति बुझाउँछन्, बाँकी अर्को भागमा) पत्रकार प्रियास्मृति ढकाल बेलायतबाट प्रशारित विएफविएसमा लेख्नुभएको रिपोर्ट
Discussion about this post