बाँके पुस २१ गते ।
कोरोना भाइरस संक्रमणबाट बाँकेका दुईवटा अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा एकजना र कोहलपुर मेडिकल कलेजमा दुईजना गरी तीन जनाको मृत्यु भएको हो । भाइरस संक्रमणबाट मृत्यु हुनेमा बाँके, दाङ र कंचनपुरका छन् । बाँकेका अस्पतालमा उपचार गराइरहेका मध्ये १३ वर्षीय बालकको पनि मृत्यु भएको छ । यसरी उपचारकै क्रममा बाँकेमा बालकको मृत्यु भएको भने यो पहिलो हो । ती बालक दाङको घोराही उपमहानगरपालिका–१८ का हुन् । स्वास्थ्यमा समस्या देखिएपछि पुष १९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा २० गते भाइरस संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । निमोनिया र मुटु रोगबाट पीडित समेत रहेका ती बालकको उपचारकै क्रममा आज विहान ७ः४५ मा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज वलीले जानकारी दिनुभयो ।
यस्तै कोहलपुर मेडिकल कलेजमै उपचारका क्रममा महेन्द्रनगर–५ कंचनपुरका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आज विहान ७ः २० मा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी पुष १७ गते अस्पताल भर्ना भएका थिए । त्यसको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका संक्रमित मृतकको संख्या ७९ पुगेको छ ।
यस्तै बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षका पुरुषको पनि भाइरस संक्रमणबाट मृत्यु भएको छ । पुष ९ गते कोभिड आइसोलेसन वार्डमा भर्ना भएका ती पुरुषको गएराती १२ः २५ बजे मृत्यु भएको सूचना अधिकारी वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
Discussion about this post