बाँके फागुन २४ गते ।
‘हामी सबैको जिम्मेवारी, मानव बेचविखन विरुद्धको खबरदारी’ र ‘महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरेर बाँके युनेस्को क्लब लगायत विभिन्न संघसंस्थाले बाँके र बर्दियामा १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाएका छन् ।
१११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सोमवार नेपालगञ्जमा ‘हामी सबैको जिम्मेवारी, मानव बेचविखन विरुद्धको खबरदारी’ भन्ने नाराका साथ हस्ताक्षर अभियान सञ्चालन गरिएको र ‘महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ दुबै जिल्लाका अधिकांश पालिकामा संयुक्त रुपमा र्याली, जुलुस र सभाहरु गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार सो हस्ताक्षर अभियानमा प्लान नेपालको सहयोगमा गरिएको थियो ।
नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शमसेर राणाले हस्ताक्षर गरेर अभियानको शुरुवात गरेपछि उपमेयर उमाथापा मगर, महिला बालबालिका शाखाका प्रमुख शोभा शाह, प्लान नेपालका मिना पराजुली र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डिल्ली खड्का लगायतले हस्ताक्षर गर्नुभएको थियो ।
त्यसपछि दिनभरी उक्त अभियान अन्तर्गत हस्ताक्षर गर्ने कार्य गरिएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । उहाँले ३ सय बढीले सो अभियानको समर्थनमा हस्ताक्षर गरेको बताउनुभयो ।
सोही प्रकारले बाँकेको बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका तथा बर्दियाको बारबर्दिया, गुलरिया, राजापुर, ठाकुरबाबा र बासगढी नगरपालिकामा पनि क्लबको सहयोग र सहकार्यमा ‘महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाउन संयुक्त रुपमा विविध कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ ।
ती सबै कार्यक्रममा पनि प्लान नेपालले सहयोग गरेको क्लबका उपाध्यक्ष पन्चम गुरुंगले बताउनुभयो । उहाँले बाँके र बर्दिया दुबै जिल्लाका अधिकांश पालिकामा आयोजना गरिएका अभियान र कार्यक्रममा क्लब लगायतको सहभागिता र सहयोग रहेको बताउनुभयो ।
Discussion about this post