बाँके फागुन २६ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ प्रगतिपथ टोलमा अवस्थित ॐ शिव पार्वती मन्दिरमा महाशिवरात्रीको अबसरमा विविध धार्मिक कार्यक्रमको आयोजना गरिएको छ ।
संरक्षक माधवराम बर्माका अनुसार यसवर्ष रुद्री पाठ, शिव पुराण, होम शान्ति पाठ, तिलक आरती, भजन कीर्तन, सांस्कृतिक कार्यक्रम, प्रसाद वितरणलगायत कार्यक्रम गरिने छ । महाशिवरात्रीको पावन पर्वमा आयोजित धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रममा सम्पूर्ण भक्तजनहरुलाई सहभागी हुन संरक्षक बर्माले अनुरोध गरेका छन् ।
ॐ शिव पार्वती मन्दिरको परिसरमा सन्तानेश्वर महादेव, अर्धनागेश्वर, नन्दी, श्री गणेश, राम भक्त हनुमान, कालभैरव, शनिदेव, सूर्यदेव, श्रीराधा कृष्ण, लक्ष्मी नारायण, शेषनाथ र विश्वकर्मा बाबाको प्रतिष्ठापित प्रतिमाहरुको दर्शन गर्ने सौभग्य प्राप्त गर्नुका साथै स्वयंको आस्था भक्ति अनुरुप पूजा अर्चनाको अवसर प्राप्त हुने उनको भनाई छ ।
संरक्षक बर्माका अनुसार बाँके जिल्ला चिनाउन जिल्ला भित्र रहेका कैयन धार्मिक अस्था र पर्यटनका रुपमा रहेका सानो–सानो स्थानहरुलाई चिनाउन जरुरी छ । स्थानीय बागेश्वरी मन्दिर तथा मन्दिर छेउछाउमा रहेका अन्य देवीदेवताका मन्दिरहरुलाई पर्यटनको रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।
त्यसैगरी, स्थानीय हडिया बाबा आश्रम, लक्ष्मीनारायण मन्दिर, नरैनापुरमा रहेको बाबा बर्फानीको क्षेत्र, रानी तलाऊ, कठमहल मन्दिर, बाँके राष्ट्रिय निकुञ्जलगायत स्थानहरुलाई स्थानीय सरकारले पर्यटनको दृष्टिकोणले छनौट गरी पर्यटकहरुलाई सहज र सरल रुपमा घुमफिर गर्ने वातावरण सिर्जना गर्न सके यस क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए।
Discussion about this post