बाँके चैत १० गते ।
‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ भोली विश्व क्षयरोग दिवस मनाइने भएको छ । दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका सरोकारवालाहरुसँग आज नेपालगन्जमा छलफल गरेको छ ।
सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षेयरोगलाई जनस्वास्थ्य समस्याको रुपमा घोषणा गरी यसको व्यवस्थापनका लागि नयाँ नीति तथा कार्यक्रमहरुमा जोड दिदै आएको छ। बाँकेमा ८ सय ३३ जना क्षयरोगीका विरामी रहेको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको हालसम्म ५ सय २५ नयाँ विरामी फेला परेका छन् । नेपालमा करिव आधा जनसंख्या क्षयरोगबाट संक्रमित रहेको तथ्यांक छ । जस्मध्ये ६० प्रतिशत क्षयरोग वयश्क व्यक्तिहरुमा भएको अनुमान गरिएको छ । हालै सम्पन्न राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्भेक्षणले नेपालमा वार्षिक ६९ हजार नयाँ बिरामीहरु थपिने अनुमान गरेको फोकलपर्सन नेपालीले बताउनुभयो ।
कार्यक्रममा बोल्ने सहभागीहरुले क्षयरोग निवारणका लागि सबैको हातेमालो आवश्यक रहेको बताएका थिए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले क्षयरोगीहरुको पहिचानका लागि स्वास्थ्य कार्यालयले विभिन्न खाले कार्यक्रम गर्दै आएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले क्षयरोगको रोकथाम, निनाद र नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले एक्लैले मात्र क्षयरोग निवारण सम्भव नभएकाले सबैले यसको पहिचान र निदानमा भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मीलगायतको सहभागीता रहेको थियो ।
Discussion about this post