बाँके चैत ११ गते ।
बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको चुरे क्षेत्रमा पुगेको छ । बाँके राष्ट्रिय निुकञ्ज स्रोतका अनुसार बाघ चुरेको घोच क्षेत्र तर्फ गएको छ । यसअघि मानिसमाथि आक्रमण गर्दै आएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जलाई बुझाइएको थियो ।
चैत ५ गतेदेखि बाँके राष्ट्रिय निकुञ्जको ‘टाइगर होल्डिङ सेन्टर’ मा राखिएको १० वर्षको वयश्क बाघ मंगलबार बिहान डण्डी बंग्याएर भाग्न सफल भएको थियो । खोरको फलामे डण्डी बंग्याएर भागेको बाघ निकुञ्जको सुनसान चुरे घोँच क्षेत्रमा पुगेको हो ।
निकुञ्ज स्रोतका अनुसार खोरबाट गएको पाइला पछ्याउँदै जाँदा बाघ निकुञ्जको चुरे क्षेत्र तर्फ गएको देखिएको छ । बाघ गएको क्षेत्रमा पानी तथा बासस्थानका लागि घोचहरु रहेकाले उ फर्किएर मानव बस्ती वा मानवीय गतिविधि हुने क्षेत्रमा आउने सम्भावना नरहेको निकुञ्ज स्रोतले जनाएको छ ।
Discussion about this post