फाइल फोटो
काठमाडौं वैशाख ६ गते ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ओली भारतको त्वम् शरणम् भएको आरोप लगाए ।
‘हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वम् शरणम् भएका छन्’ उनले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?
देउवाले कम्युनिस्टहरु राष्ट्रवादी नभएर अवसरवादी रहेको पनि टिप्पणी गरे । ‘यिनीहरु राष्ट्रवादी होइनन्, यिनीहरु खाली अपर्चुनिस्ट हुन्’ उनले भने ।
अहिले पनि परिस्थिति आफ्नो नेतृत्वमा सरकार बन्ने खालको नभएको भन्दै देउवाले आफूले परिस्थिति हेरिरहेको बताए । ‘हेर्दै जाऔं परिस्थिति मैले धेरै आशा राखेको पनि छैन, सम्भावना पनि छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन्’ देउवाले भने ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन नसक्ने पनि देउवाले बताए ।
‘प्रचण्डले फिर्ता लिएको छैन, प्रचण्डले फिर्ता नलिएसम्म बहुमतको सरकार छ, बहुमतको सरकार हुँदासम्म के गर्ने’ उनले प्रश्न गरे ‘प्रचण्डले फिर्ता लिए पनि मधेसी पार्टीले उसलाई समर्थन गर्न खोजिरहेका छन् । के के भइरहेको छ ? अनलाइन खबर
Discussion about this post