खोजखबर संवाददाता
काठमाडौं ३० गते । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग दुई घण्टा छलफल गरेका छन्। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पनि उपस्थित थिए।
कांग्रेस सभापति देउवाको आग्रहमा बैठक भएको हो। प्रधानमन्त्रीसँग भएको बैठक बाँके घटना, नागरिकता विधेयकलगायतका विधेयकहरूलगायतमा केन्द्रित रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बाँके सभापति किरण कोइरालाको हात नेकपा कार्यकर्ताको आक्रमणबाट गत बिहीबार भाँचिएको भन्दै कांग्रेसले दोषीमाथि कारबाहीको माग राखेर आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरूद्ध गरेको थियो।
‘बाँके घटना, नागरिकतालगायत विधेयकमा राष्ट्रिय सहमतिअनुसार अघि बढ्न प्रधानमन्त्रीसँग संवाद भयो,’ शर्माले सेतोपाटीसँग भने, ‘बाँके घटनाका दोषीलाई तत्काल कारबाही सुरू गर्न र सहमतिअनुसार नै विधेयक अघि बढाउन हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं।’
प्रधानमन्त्रीसँगको भएको बैठकलाई कांग्रेसले जागरण अभियान अन्तर्गत सामाजिक संवादको कार्यक्रम अनुसार नै गरिएको बताएको छ। ‘गाउँमा पनि हामीले आफ्ना कुरा राखिरहेका छौं। सिंहदरबारलाई पनि झक्झक्याइरहेका छौं,’ शर्माले भने।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने आफ्नो तयारी रहे पनि आइतबार नै छलफल भएकोमा खुसी व्यक्त गरेका थिए। प्रधानमन्त्रीले सबै विषयहरूमा समन्वय गरी अघि बढ्ने बताएको शर्माले जानकारी दिए। साभार सेतोपाटीबाट
Discussion about this post