दाङ असार २ गते ।
दाङमा राप्ती नदीमा आएको बाढीमा फसेका चारजनालाई प्रहरीले उद्दार गरेको छ । लमही नगरपालिका ७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका २ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर ३ का २६ वर्षकै गणेश यादवलाई सशस्त्र प्रहरीको टोलीले आज बिहान उद्दार गरेको हो ।
लमही ७ हसनापुर र राजपुर गाउँपालिकाको बेला घाटबीचको टापुमा उनीहरु फसेका थिए । उनीहरु भैँसी पाल्न अस्थायी गोठ बनाएर हसनापुरको टापुमा बस्दै आएका दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । उता डोटीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
केआईसिंह गाउँपालिका–३ बासुदेवी देउकाँडाका ६५ वर्षका खडकबहादुर बमको ज्यान गएको प्रहरीले जनाएको छ । गाउँका धारापानीमा खानेपानी बन्द भएपछि मर्मतका लागि मुहानमा गएका बेला उहाँलाई पहिरोले पुरेको हो । बमसँगै गएका १३ वर्षकी पुनी कुँवर र १६ वर्षकी पुजा कुँवर घाइते हुनुभएको छ।
Discussion about this post