सुर्खेत असार १४ गते ।
कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो ।
लगातारको वर्षाका कारणले कर्णाली करिडोर एक साताभन्दा बढीदेखि नै अवरुद्ध रहेको छ । कर्णाली करिडोरअन्र्तगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडक खण्डमा पहिरो गएको छ ।
पहिराले करिडोर क्षेत्रका विभिन्न ठाउँमा राखिएका बिलिब्रिज भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएका कारणले सडक अबरुद्ध भएको र पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
Discussion about this post