बाँके असार १५ गते ।
आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन । कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको छ ।
नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतल वृद्धि भएको जनाइएको छ ।
अन्नको भण्डारका रुपमा चिनिने बाँके र बर्दियामा पनि समयमै बर्षा भएकाले किसानहरु अहिले धान रोपाइँमा व्यस्त छन् । समयमै बर्षा भएको र मलको अभाव झेल्न नपरेकाले यो बर्ष उत्पादन बढ्ने आशा किसानहरुको छ ।
यसैबीच असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही चिउरा खाएर असार १५ मनाउँछन् ।
दही चिउराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस्तै कर्णाली प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार धान दिवसको अवसर पारेर आज सार्वजिनक विदा दिइएको हो । जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरूमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।
जुम्लामा भने चैत १२ गते धान दिवस मनाउने भएकाले सार्वजनिक बिदा दिइएको छैन । फाइल तस्वीर
Discussion about this post