वसिम अन्सारी
बाँके असार १६ गते ।
बाँके प्रहरीले चितुवाको छालासहित कुसुमबाट दुईजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका– ९ का ३२ वर्षीय सन्तोष क्वँर र भैरवी गाउँपालिका–३ दैलेखका १९ वर्षीय जितेन्द्र शाही ३ फिट ३ इन्च लामो चितुवाको छालासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
वन्यजन्तुको छालाको खरिदविक्री भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले क्वँरले चलाइरहेको रा ४ प ६५०४ नम्वरको स्कुटीको डिक्की भित्र कालो झोलामा राखिएको चितुवाको छाला बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना पेन्टको काम गर्छन् ।
कोहलपुर घर बताउने रविन खड्काले आफुसँग चितुवाको छाला भएको र त्यसलाई विक्री गरेर रकम बाँडौला भनेपछि जितेन्द्र चितुवाको छाला लिन दाङ पुगेका थिए । जिेत्द्रले घोराही पुगेर सन्तोषसँग मिलन राना भन्ने व्यक्तिबाट छाला लिई आउने क्रममा उनीहरु कुसुमबाट पक्राउ परेका हुन् ।
बरामद छाला तीस लाखमा विक्री गर्ने योजना रहेको पनि जितेन्द्रले प्रहरीलाई वयान दिएका छन् ।राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाएर उनीहरुमाथि कारवाही गरिने बाँके प्रहरीले जनाएको छ ।
Discussion about this post