बाँके असार २४ गते ।
जमुनाह नाका पश्चिम नेपालकै सबैभन्दा ठूलो नाकामध्येमा पर्छ । यहाँबाट दैनिक हजारौं मानिसहरु ओहोरदोहोर गर्ने गर्छन् । भारत जाने र आउनेक्रम चलिरहेको हुन्छ । यहाँबाट करोडौंको मालसामान आयात हुने गरेको छ ।
खुला सीमानाको फाइदा उठाउँदै तस्करहरुले करोडौंको अवैध सामान भित्र्याउने गरेका तथ्यहरु बाहिर आउन थालेका छन् । खासगरी सीमाको सुुरक्षार्थ खटिएको जमुनाह प्रहरीको नेतृत्व सेटिङमा चल्दा तस्कर मौलाउनेक्रम बढेको छ ।
केही साता अघि नाकामा आएका इन्चार्ज सन्तोष खनाल तस्करसँग साँटगाँठ गरेर कमाउ धन्दामा लागेका हुन् । कम्दि इप्रकामा इन्चार्जको जिम्मेवारीमा रहँदा खनालले मोटो रकम कुम्ल्याएको त्यहीका स्थानीयबासीहरु मुख खोलेर सुनाउँछन् ।
इन्चार्ज बाहेक अन्यत्र बस्न नरुचाउने उनले मोटो रकम दिएर जमुनाह प्रहरी चौकीको इन्चार्ज हात पारे । त्यसको फाइदा उठाउँन उनी तस्करसँगको सेटिङमा व्यस्त छन् । यहाँसम्मकी तस्करसँग राम्रो साँटगाँठ भएका असई केशव बहादुर थापालाई पनि उनै खनालले जमुनाह नाकामा ल्याउन सफल भएका छन् ।
अहिले सई खनाल र असई थापा ड्युटी छाडेर रातारात तस्कर कहाँ पुग्ने गरेका खवरहरु सार्वजनिक भइरहेका छन् । पछिलो समय सइ खनाल र असई थापाले तस्करका नाइके बरकत, मोनु राइ, भौकी, कलिम राईलगायतसँग हिमचिम बढाएका छन् । उनीहरु रातारात ती तस्करसँग दारुपानी खाने, कमिशनको मोलमोलाई गर्नेलगायतका काममा व्यस्त छन् ।
अनलाइन खोजखवरलाई प्राप्त सूचना अनुसार तस्करहरुले मासिक रकम बुझाउने गरेका छन् । एकजना तस्करले नाम उल्लेख नगर्ने शर्तमा अनलाइन खोजखवरलाई भने एउटा तस्करले न्यूनतम कम्तिमा १० हजारदेखि ५० हजारसम्म जमुनाह प्रहरीलाई बुझाउने गरेका छन् ।
यी तस्करले कपडादेखि मोटरसाइकलका पाठपूर्जा भित्र्याउने गर्छन् । त्यसैगरी सूर्तिजन्य पदार्थसमेत भित्र्याउने गरेका छन् । तर ठूलठूला सामान भित्र्याउनु पर्यो भने अझै महंगो रकम प्रहरीलाई बुझाउनु पर्ने तस्करहरु बताउँछन् ।
अवैध धन्दाका लागि सई खनाल र असइ थापाले तस्करलाई निश्चित समय तोकि दिएका छन् । दिनभरी जमुनाह नाकाको पूर्वतिरबाट अवैध सामान भित्र्याउने गरिन्छ । राती भने ११ बजेदेखि विहान ४ बजेसम्म अवैध सामान भित्र्याउने गरिएको तस्करहरु बताउँछन् । राती ११ बजेदेखि मानिसहरुको चहलपहल नहुने भएकाले प्रहरीले यही समयमा तस्करलाई अवैध सामान भित्र्याउन समय तोकेको हो ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारीले भारतबाट हुने अवैध तस्करी रोक्ने आफ्नो पहिलो प्रतिबद्धता भएको जनाएपनि आफ्नै मातहतका युनिटबाट तस्करसँगको सेटिङमा अवैध सामान भित्र्याउँदा समेत मौन बसिरहेका छन् ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले भने तस्करसँग मिलोमत्तो गरेको पाइए कारवाही गरिने चेतावनी दिनुभएको छ । उहाँले अहिलेसम्म प्रमाण भेटिएको छैन् यदी प्रमाण भेटिए कारवाही हुन्छ ।
Discussion about this post