तनहुँ असार २५ गते ।
गएकाे बुधवारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न ठाउँका १७८ घरपरिवार पहिराेकाे उच्च जोखिममा रहेका छन् ।
घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी यस सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । यस गाउँपालिकाको वडा नं २ मा रहेकाे खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी त्यस सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन्।
घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी पहिराेबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो । त्यसैगरी बन्दिपुर गाउँपालिका–१ मा रहेकाे कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घर परिवार पहिराेको कारण उच्च जोखिममा परेका वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिनुभयो ।
सुरक्षित ठाउँमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणका लागि पहल गरिदिन स्थानीय नरबहादुर चेपाङले आग्रह गरेको उहाँले बताउनुभयो । त्यसैगरी ऋषिङ गाउँपालिका–५ मा १२ घर परिवार विस्थापित हुने अवस्थामा रहेका छन्। नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै लगायतका करिब ४६ घर परिवार उच्च जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ ।
Discussion about this post