
खोजखबर संवाददाता बाँके असोज १ गते । बिहानदेखि भएको लगातार बर्षातका कारण नेपालगञ्जबाट हिमाली र पहाडी जिल्लामा हुने सम्पूर्ण उडान प्रभावित भएका छन् ।
बिहान डोल्पाबाहेक अन्य कुनै दुर्गम जिल्लामा विमान उडान नभएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । उनले हिमाली र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्ने र दुर्गम भेगका विमानस्थल गुणस्तरीय नभएकोले उडान प्रभावित भएको बताए । उनले दुर्गम जिल्लाका उडान प्रभावित भएपनि नेपालगञ्ज काठमाण्डौ र काठमाण्डौ नेपालगन्ज नियमित उडानलाई वर्षाले असर नगरेको बताए ।
नेपालगञ्ज क्षेत्रमा बुधवार बिहानैदेखि मुसलधारे वर्षा भएपनि बुद्ध, यती र श्री एयरलायन्सको नियमित उडान प्रभावित नभएको उनले बताए । दिउँसो श्री एयरलायन्सको विमान काठमाडौंबाट नेपालगन्ज विमानस्थलमा आएर फर्किएको उनले बताए । मुसलधारे वर्षा भए पनि विमान उडान र अवतरणका लागि आवश्यक पर्ने पर्याप्त भिजिविलिटी भएका कारण उडानमा कुनै असर नपरेको कार्यालय प्रमुख ठाकुरले बताए ।
Discussion about this post