विराटनगर भदौ २१ गते ।
दुई दिनअघि गाँजासहित पक्राउ परेका एक जना थुनुवाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको हो।
उनी गत शुक्रबार विराटनगर–११ जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित पक्राउ परेका थिए।
उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप्न अदालत लैजाने तयारी गरेको थियो। सोही क्रममा बेहोस भएका उनको उपचार गर्दागर्दै कोसी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।
उनका अनुसार कामतविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी थियो। शुक्रबार समय अपुग भएकाले र शनिबार सार्वजनिक विदा भएकाले आइतबार अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाउने तयारी भइरहँदा थुनुवाको मृत्यु भएको एसपी जिसीले दाबी गरे।
उनले भने, ‘म्याद थप गर्न अदालत लैजानलाई हिरासतबाट बाहिर निकाल्ने क्रममा रिंगटा चल्यो भन्दै गर्दा एक्कासी बेहोस भएर ढलेका थिए।’
नियमित लागुऔषध सेवन गर्ने उनले लागुऔषध सेवन गर्न नपाएको असरका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ। उनको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको र रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण प्रष्ट हुने मोरङ प्रहरीले जनाएको छ।
Discussion about this post