बाँके भदौ ३१ गते ।
देशभर बिहीबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा अहिले भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।
यस्तै मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।अहिले देशभर सामान्यदेखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।यसैबिच पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
Discussion about this post