बाँके असोज २३ गते ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ । पूरै नेपालबाटै मनसुन बाहिरिन अझै केही दिन लाग्ने भए पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट भने मनसुन बाहिरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिएपछि र तीन दिनसम्म लगातार पानी नपरेमा मनसुन बाहिरिएको मानिन्छ । यो लक्ष्यण अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्रै देखिएको छ ।
बिस्तारै अरु प्रदेशको मनसुन पनि बाहिरिँदै जाने उहाँले बताउनुभयो । यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ ।
यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो ।
तर मौमसविद्ले अनुमान गरेको अक्टोबर २ तारिखभन्दा एक हप्ता बढी समय घर्किसकेपछि बल्ल विभिन्न प्रदेशको मनसुन बाहिरिने क्रम सुरु भएको छ ।
Discussion about this post