बाँके कार्तिक ३ गते ।
विभिन्न सात बुँदे माग राखेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा छन् । प्रशासकिय कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले आजदेखि आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् ।
कर्मचारीहरुले आफुहरुको मागमा व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । यहाँसम्मकी सरकारले उपलब्ध गराएको सेवासुविधा समेत अस्पताल प्रशासनले आफैले राखेको तर कर्मचारीहरुलाई नदिएको उनीहरुको आरोप छ । तलवभत्ता वृद्धि उनीहरुको मुख्य माग छ ।
आपतकालिन सेवा बन्द गर्नु अघि आयोजित कोणसभालाई सम्वोधन गर्दै आन्दोलन परिचालन समितिका संयोजक यमबहादुर खड्काले अस्पतालले कर्मचारीलाई शोषन गरेको आरोप लगाउनुभयो ।
पाँच वर्षदेखि कर्मचारीहरुको तलववृद्धि नभएको उहाँको भनाइ छ। स्थायी, अस्थायी र करारका कर्मचारीहरुको तहगत रुपमा नेपाल सरकारले कायम गरेअनुसार तलवभत्ता दिनु पर्ने उहाँको भनाइ छ ।
पोषाक भत्ता स्वरुप प्रतिमहिना ६ सय रुपैयाँ दिने गरिएको छ । यस्तो महंगीमा त्यो कसरी सम्भव छ उहाँले भन्नुभयो–‘कम्तिमा यसलाई दोब्बर पार्नु पर्छ ।’ जोखिम र फर्मालिन भत्तालाई दुई सयबाट वृद्धि गरी पाँच सय पु¥याउनु पर्ने उहाँको भनाइ छ।
आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले माग सम्वोधन नभए थप आन्दोलन गर्ने चेतावनी दिनुभयो । अस्पतालले पटकपटक सहमति गर्ने र त्यसको पालना नगर्ने गरेको भन्दै आपत्ती जनाउनुभयो । भोलिसम्म माग समवोधन नभए थप कडा आन्दोलन गरिने उहाँको भनाइ छ।
Discussion about this post