खोजखबर संवाददाता काठमाडौं असोज ५ गते । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पाँच करोड रुपैयाँ ऋण दूरुपयोग गरेको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले श्रेष्ठसहित एघार जनालाई पक्राउ गरेको हो । प्रहरीले श्रेष्ठसहित बैंकका कर्मचारी, बिचौलिया र केही ऋणीलाई पक्राउ गरेको हो । श्रेष्ठसँगै खोलाको जमिन धितोमा राखेर पाँच करोड रुपैयाँ ऋण लिने सुरेन्द्र श्रेष्ठ पनि पक्राउ परेका छन् । त्यसैगरी सुष्मा शाह, ऋचा श्रेष्ठ, किरण बोहोरा, विक्रम पन्त र पुष्पराज भण्डारीलगायत बैंकका कर्मचारीहरू पनि पक्राउ परेका छन । दुई जना फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ । लुम्बिनी बैंकसँग मर्ज हुनुअघि नै सो ऋण प्रवाह गरिएको प्रहरीले जनाएको छ । सुरेन्द्र श्रेष्ठले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको प्रहरी अनुसन्धानमा देखिएको छ । सुरेन्द्रले ऋण तिर्न छाडेपछि बैंकले सम्पति लिलामी गरेर उठाउन खोज्दा धितो राखेको जग्गामा खोला बगेको भेटिएको हो । झापाको बिरिङ खोला क्षेत्रको जग्गा धितो राखेर पाँच करोड रूपैयाँ ऋण प्रवाह गरिएको प्रकरण प्रहरीसम्म पुगेको हो ।।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post