रुकुम पुस १३ गते ।
कर्णालीका पहाडी जिल्लाका किसानले बर्षेनि रासायनिक मलको अभाव झेल्दै आएका छन् । गत बर्खामा धान खेती गर्दा मलको अभाव झेलेका किसानलाई अहिले पनि गहुँमा हाल्ने मल छैन ।
सरकारले रुकुम पश्चिम र सल्यानका किसानलाई ढुवानी अनुदानको मल दिँदै आएको छ । तर खेती गर्ने सिजनमा कहिल्यै मल पुग्दैन । सल्यानमा ३७ हजार ३ सय ६ परिवार कृषिमा निर्भर छन् ।
तर सरकारले बर्सेनि १८ हजार ६ सय ५३ किसान परिवारका लागि मात्र रासायनिक मल पठाउँदै आएको छ । ढुवानी अनुदानको मल नपाउँदा वर्षैसाल उत्पादन घट्दै गएको शारदा नगरपालिका–२ का किसान नवीनसिंह भँडेलले बताउनुभयो ।
किसानहरूका अनुसार गाउँमा पशुपालनको चलन हराइरहेकाले अन्नबालीका लागि रासायनिक मलको विकल्प छैन । किसानहरूले कम्पोस्ट मलको प्रयोग छाडेर रासायनिक मलमा मात्र निर्भर हुँदा पर्याप्त हुन नसकेको कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताउनुभयो ।
स्थानीय तहको मागका आधारमा मलको वार्षिक कोटा तोकिएको साल्ट ट्रेडिङ कर्पोरेसनका शाखा प्रमुख प्रवीणजंग शाहले बताउनुभयो । उहाँका अनुसार बर्सेनि देशैभरि मलको अभाव हुने हुँदा कोटा बढाउन समस्या भएको छ ।
Discussion about this post