बाँके माघ १९ गते ।
सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानकर्ता टीका शेर्पाले जानकारी दिनुभयो ।
पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकाेमा कोरोना महामारीका कारण यसपाली औपचारिक कार्यक्रम राखिएको छैन । विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्याली निकालिने गरिएको थियो ।
सोनाम ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
Discussion about this post