बाँके माघ २५ गते ।
वाग्मती प्रदेशसहित देशका धेरै स्थानमा आज मौसममा बदली हुने भएको छ । आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
प्रदेश–१ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । तराई भू–भागमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
उच्च पहाड र हिमाली भेगमा केहीदिनको लगातारको हिमपात र अन्य क्षेत्रमा वर्षापछि तीन दिनदेखि मौसम सामान्यतया सफा रहेपनि चिसो भने उल्लेख्य मात्रामा घटेको छैन । यद्यपि, अब क्रमशः चिसो कम हुँदै जाने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।
Discussion about this post