बाँके चैत ४ गते ।
रङको पर्व होली आज नेपालगञ्जमा हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।
होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुस्लिम समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको नेपालगञ्ज–५ फुल्टेक्राका युवा नेता मुस्ताक अन्सारीले बताउनुभयो ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।
कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ ।
रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।
फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । यस पर्वका लागि बजारमा मिठाई, फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ ।
होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन ११ सय प्रहरी परिचालन गरिएको अनलाईन खोजखबरलाई बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ ।
Discussion about this post