काठमाडौं जेठ १७ गते ।
नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले नेपालगन्जका सुन्दर हरिजनको रोल्पा कारागारमा भएको मृत्युको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्नुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विशंखेले विजयविक्रम शाहको सट्टामा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताउनुभयो ।
उहाँले केही दिन अघि सुन्दर हरिजनको कारागारमै मृत्यु भएपछि समग्र घटनाको छानविन गर्नुपर्ने बताउनुभयो । सांसद विशंखेले यस घटनाबाट नेपालको सिंगो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पुरै शासन संरचनामाथि प्रश्न उठेको बताउनुभयो ।
सांसद विशंखेले घटनाको छानविनका लागि संसदीय छानबिन समितिको साथै गृह मन्त्रालयले पनि सरकारको तर्फबाट अर्को छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो ।
छानवीन समितिले भने सुन्दरको मृत्युलाई आत्महत्या भएको भन्दै कारागार कर्मचारीको दोष नभएको वेहोरासहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
Discussion about this post