काठमाडौं भदौ १ गते ।
आसन्न निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे छलफल हुने छ ।
‘बाबुराम र वामदेवको निर्वाचन क्षेत्र, उनीहरुलाई दिने सिटको संख्या लगायतबारे आजको बैठकमा छलफल हुन्छ,’ माओवादी केन्द्रको स्थायी समितिका एक जना सदस्यले भने ।
वामदेव गौतम प्युठानबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनले प्रदेशमा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । बाबुराम भट्टराई गोरखाबाट चुनाव लड्ने तयारीमा छन् ।
मंगलवारको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई माओवादीको चिह्न गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्न स्वीकृती दिने निर्णय गरेको थियो ।
Discussion about this post