बाँक असोज २१ गते ।
मंगलबार देखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ ।
नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाको विपत शाखाले जनाएको छ ।
लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पहाडको पानी पस्दा भएको डुबानले करिब छ हजार स्थानीय प्रभावित भएको पालिकाका सूचना अधिकारी एंव विपत शाखाको प्रमुख समेत रहनु भएका लक्ष्मीकान्त मिश्राले बताउनु भयो ।
पालिकाका ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई धेरैको घरमा बुधबारदेखि नै खाना पाक्न नसकेको सूचना अधिकारी मिश्राले जानकारी दिनु भयो ।
बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तुको आवश्यकता परेकाले आवश्यक खाने सामग्री उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो । अध्यक्षले भन्नुभयो, “राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले नरैनापुरवासीलाई प्रभावित गरेको छ ।” शुक्रबार बाढी पिडितहरु संग भेटगरी पालिकाका तर्फबाट आवश्यक राहात उपलब्ध गराउने बताउदै सबैलाई सचेत भएर बस्न अध्यक्ष शाहले आग्रह गर्नु भएको थियो ।
समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको बताउदै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका अलि बाँकी रहेको खेतीपाती पनि सखाप पारेको जिकिर गर्नु भयो । उहाँले सुख्खा ग्रस्त क्षेत्र घोषण हुदाँ समेत संघीय र प्रदेश सरकारले जनतालाई राहात दिन नसकेको प्रति आक्रोश व्यक्त गर्दै बाढी पिडितहरुलाई भोकमरी हुनबाट बचाउन तर्फ पहल गर्न सम्बन्धी पक्षहरु संग अपिल गर्नु भयो ।
गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसे पछि जनजीवन अस्तव्यस्त बनेको गाउँपालिकाले जनाएको छ ।
वडा नं. ३ का अध्यक्ष अजय मिश्राले घरमा रहेका सबै सामान भिजेर बेहाल भएको बताउदै पानी नरोकिए प्रभावितको संख्यामा बृद्धि हुने बताउनुभयो ।
Discussion about this post