काठमाडौं पुस २७ गते ।
नेपाल प्रहरीका लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय र मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँका विरुद्ध गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।
आर्थिक चलखेल गरेको र भन्सार कार्यालयहरुसँग मिलेर राजश्व छली गरेका सामानहरु ल्याउन सहयोग गरेको आरोपसहित दुवैविरुद्ध उजुरी परेको हो । सो उजुरीमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने जनाएको छ । विगतमा पनि विवादास्पद छवि भएका दुई डीआईजीहरु एआईजी बढुवाका लागि भन्दै आर्थिक चलखेलमा लागेको र उनीहरुले मातहत निकायका जुनियर अधिकृतहरुसँग पनि आर्थिक लाभ लिने गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको स्रोतले जनाएको छ ।
उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले लुम्बिनी र मधेस प्रदेशका डीआईजीविरुद्ध छानबिन थालेको हो । लुम्बिनी प्रदेशका डीआईजी उपाध्याय र मधेसका डीआईजी खाँका विरुद्ध उजुरी परेपछि उनीहरुको विषयमा छानबिन थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए । ‘दुई डीआईजी महानिरीक्षकको सचिवालय र गृह मन्त्रालयमा उजुरी परेको छ ।
मन्त्रालयले सत्य के हो भनेर प्रहरी प्रधान कार्यालयलाई लेखी पठाउन भनेको छ । ती उजुरीलाई लिएर प्रहरी प्रधान कार्यालयले सूक्ष्म अनुसन्धान गरिरहेको छ’, महानिरीक्षक सचिवालयमा रहेका एक प्रहरी अधिकारीले भने । डीआईजी उपाध्यायले लुम्बिनी प्रदेशका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई बोलाएरै आर्थिक सहयोग गर्न आग्रह गरेको र नगरेमा कार्यालय प्रमुखका रुपमा दिइने नम्बर घटाउने चेतावनी दिएको स्रोतको दाबी छ ।
त्यस्तै अर्का डीआईजी खाँले भन्सार प्रशासन र प्रहरीसँग मिलेर आर्थिक लाभ लिने गरेको उजुरी परेको छ । उनीहरु दुवैलाई प्रहरी प्रधान कार्यालयले एक पटक चेतावनी दिए पनि नरोकिएपछि छानबिन शुरु गरेको हो । यस्तै सीमानाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानबिन थालेको छ । कार्य क्षमतमा निकै कमजोर मानिएका एसपी कँडेल यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको घटनामा विभागीय कारबाहीमा परिसकेका छन् ।
तर, गम्भीर घटना भए पनि त्यतिबेला राजनीतिक संरक्षणमा सामान्य कारबाही मात्र भोगेका एसपी कँडेलमाथि यतिबेला विस्तृत छानबिन गरी जिल्ला इन्चार्जबाट हटाइएको हो । दुई साताअघि उनले पैसा असुलेको आरोपमा दुईजना सादा पोशाकमा कार्यरत प्रहरीलाई पक्राउ गरेका थिए । पछि लुम्बिनी प्रदेशका डीआईजी उपाध्यायको आदेश भन्दै उनीहरूलाई कारबाही नै नगरी छाडेका थिए ।
सादा पोशाकमा प्रहरी खटाएर मिलेमतोमा एसपीले नै तस्करी गराउँदै आएको आधार भेटिएपछि उनीमाथि विस्तृत छानबिन अघि बढेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।तीन साताअघि इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खटाएको टोलीबाट पक्राउ परेका थिए ।
बरामद गरेको सुन आफैँले लुकाएको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले गोप्य रूपमा टोली खटाएर सुन र नगद बरामद गरेको हो । उनलाई निलम्बन गरी थप छानबिनका लागि एक समिति बनेको थियो । एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा उनीमाथि छानबिन भइरहेको छ ।
यता सर्लाहीस्थित इलाका प्रहरी कार्यालय केशेरगन्ज सर्लाहीका निरीक्षक रोशन थापा कारबाहीमा परेका छन् । लागुऔषध मुद्दामा आर्थिक चलखेल गरेर वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेको खुलेपछि उनीमाथि तीन ग्रेड घटुवाको कारबाही भएको छ । साथै इप्रकाबाटसमेत हटाइएको छ ।
Discussion about this post