बाँके माघ ९ गते ।
पछिल्ला सातामा नेपालका सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा (भारु) को आपूर्ति बढेको छ । नेपाली मुद्रा (नेरु) को तुलनामा भारतीय मुद्राको आपूर्ति बढेपछि अनौपचारिक कारोबारमा भारुको भाउ घटेको व्यवसायी बताउँछन ।
छोटो अवधिमै (एकदेखि डेढ महिना) भारुको सटही मूल्यमा धेरै कमी आउनुले पनि सीमावर्ती क्षेत्रमा नेरुभन्दा भारुको आपूर्ति धेरै रहेको पुष्टि हुने जानकारहरूको भनाइ छ । सुन, गाँजालगायत सामग्रीको चोरी निकासी बढेकाले नेपाली बजारमा भारु आपूर्ति बढेको उनीहरू बताउँछन । चोरी निकासीमार्फत भित्रिएको रकम बैंकमा सटही गर्दा स्रोत खुलाउनुपर्ने भएकाले व्यवसायीले भाउ घटेर भए पनि अनौपचारिक माध्यमबाटै सटही गर्न थालेको उनीहरूको भनाइ छ ।
नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारु चलाउन बन्देज छ । तर सीमावर्ती क्षेत्रमा खुलेआम ती दरका भारु पनि चलनचल्तीमा छन । ठूला कारोबारमा ५ सय र २ हजार दरका भारु नोट बैंक प्रयोग हुने तर ती दरका नोट बैंकले सटही नगरिदिने भएकाले पनि व्यवसायी अनौपचारिक माध्यमबाट साट्न बाध्य भएको जानकारहरूले बताए ।
‘भारु बढ्नुको प्रमुख कारण भारततर्फको निकासी बढ्नु नै हो । निकासी औपचारिक प्रणालीबाट भएको भए राष्ट्रको ढुकुटीमा विदेशी मुद्रा आउँथ्यो,’ स्रोतले भन्यो, ‘अनौपचारिक प्रणालीबाट भएकाले बजारमा भारु बढी भयो । भारुको तुलनामा नेपाली मुद्राको उपलब्धता कम भएपछि भारुको भाउ घटेको हो ।’
यसरी बजारमा भारुको आपूर्ति धेरै भयो । भारुको तुलनामा नेरुको आपूर्ति कम हुँदा नेरु महँगो र भारु सस्तो भएको हो । सीमावर्ती क्षेत्रमा नेरु बलियो र भारु कमजोर भएको विषयमा नेपाल राष्ट्र बैंक पनि जानकार छ । यही कारण राष्ट्र बैंकले आफ्ना प्रादेशिक कार्यालयसँग के कारणले यस्तो अवस्था आएको हो भन्नेबारे जानकारी पनि मागेको थियो ।
तर यही नै कारणले भारु अवमूल्यन भएको हो भन्नेबारे निश्चित भइनसकेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘सीमावर्ती क्षेत्रमा भारु अवमूल्यन भएको जानकारी हामीले पनि पाइरहेका छौं,’ उनले भने, ‘भारतबाट जुवातास खेल्न आउने, सामाजिक कार्यमा नेपालमै आएर भोजभतेर गर्ने प्रचलन पनि बढेको जानकारी आएको छ ।’
केही समययता नेपालबाट भारतमा सुन तस्करी पनि बढेको सुन्नमा आए पनि त्यो पुष्टि हुन नसकेको उनले जनाए । पश्चिमको सीमावार्ती रुपैडिहा बजारमा पनि प्रतिदिन १० करोड रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ । तर नेपालगन्जको जमुनाह नाकासँगै जोडिएको रुपैडिहामा नेपाली मुद्राको भाउ खासै बढेको भने छैन ।
तर भारतीय बजारमा नेपाली रुपैयाँमा हुँदै आएको कारोबार भने बढेको छ । ‘यहाँ प्रतिदिन १० करोड रुपैयाँको कारोबार हुँदै आएको हाम्रो सर्वेक्षणले देखाएको छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले भने, ‘त्यो नेपाली रुपैयाँ साटेर व्यापारी तथा एजेन्टले भारु लैजान्छन् । यसबाट नेपालमा भारतीय मुद्रा सञ्चिति घट्ने देखिन्छ ।’
सीमापारि नेपाली मुद्रामा हुने कारोबार बढेपछि भारु खोज्न व्यापारी तथा एजेन्ट पहाडी जिल्लामा समेत पुग्ने गरेका छन् । भारतमा रोजगारी गरी कमाएर ल्याएको भारु साट्न पहाडी जिल्लामा जाने गरेका हुन् । ‘सीमावर्ती भारतीय बजारमा नेपाली मुद्रामा कारोबार गर्दा जम्मा भएको रकम भारतमा चल्दैन ।
त्यसैले कुन नेपालीसँग भारु छ, त्यो पत्ता लगाउने र त्यहाँ पुगेर नेपाली रुपैयाँ दिई भारु लिएर फर्किने गर्छन्,’ मन्सुरीले भने । वीरगन्ज र नेपालगन्ज जस्ता प्रमुख सीमावार्ती सहर नजिकका भारतीय बजारमा देखिएको नेपाली र भारतीय मुद्राको कारोबारलाई राष्ट्र बैंकले नियन्त्रण गर्न सकेको छैन ।
नेपालगन्जमा सञ्चालित क्यासिनोमा सीमापारिबाट आउनेले भारुमा जुवा खेल्छन् । त्यो रकम पनि राष्ट्र बैंकमा नपुग्ने गरेको सरोकारवाला बताउँछन् । बरु सीमापारि नेपाली मुद्रामा कारोबार गर्ने भारतीयले यता आएर पैसा साटेर लैजाने गरेका छन् । यसो गर्दा विदेशी मुद्रा सञ्चितिमा कमी आउने र मुद्राको अवैध धन्दा बढ्ने जोखिम बढेको उनीहरूको भनाइ छ ।
यता मोरङको सीमावर्ती क्षेत्रमा पनि एक सातायता भारु–नेरु सटही केन्द्रमा मन्दी आएको छ । धेरैजसो सटही केन्द्रको कारोबार बन्द भएको छ । चालु अवस्थामा रहेका केन्द्रमा पनि पहिलाको जस्तो नाफामूलक कारोबार छैन । ‘यस बेला सय रुपैयाँ भारु साट्दा पाँच पैसा पनि नाफा आउँदैन,’ जोगवनी नाकामा दुई दशकदेखि भारु–नेरुको सटही गर्दै आएका नासिर खानले भने, ‘त्यसैले सटहीको काम एक सातायता बन्द गरेको छु ।’
Discussion about this post