काठमाडौं साउन ३ गते ।
नेपालमा डेंगी देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागु गरेको छ। सरकारले अहिलेसम्म डेंगी नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो।
यसअघि सरकारले डेंगी रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो। यस पटक डेंगी नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाई ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ।
सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ।
बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रूद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए।
‘डेंगीको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं। यो वर्षको कार्ययोजना बनिसकेको छ। कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने? उपचारमा केके गर्ने? स्थानीय तहको भूमिका के हो? रेडक्रसको भूमिका के हो? भन्ने विषय समेटेका छौं’, मरासिनीले भने, ‘कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं। बढी जोखिम भएका ९२ वटा पालिकामा एक्सन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं। बढी जोखिम भएका ठाउँहरू काठमाडौं ललितपुर,भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरूसँग बसेर कार्यक्रम गरिसकेका छौं।’
डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगी संक्रमण देखिएको बताए। उनले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगी संक्रमण देखिएको उल्लेख गरे।
उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगी संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्कअनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगी संक्रमण देखिएको छ।’
मरासिनीले डेंगीको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताए। सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरूको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए।
लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताए। अहिले पनि देशभरका धेरै ठाउँहरूबाट केसहरू बढ्दै गएको उनको भनाइ छ।
लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औंल्याए। उनले मनसुन बढेसँगै डेंगीका बिरामीको संख्या बढेको बताए।
‘प्रदेश र संघ सरकारबीच समन्वय राम्रो छ। उहाँहरूसँग हामीले छलफल गरिरहेका छौं। स्थानीय तह त्यसमा पनि जोखिम बढी भएका स्थानीय तहहरूसँग हामीले समन्वय गरेका छौं। यद्यपि यसको गम्भिरताका बारेमा सबै स्थानीय तहका जिम्मेवार अधिकारीहरूमा जानकारी नभएको हुनसक्छ। हामी सबैको प्राथमिकता के हो भने डेंगी सार्ने लामखुट्टेको वृत्तिविकास सङ्लो पानीमा हुन्छ। थोरै पानी जम्यो भने पनि त्यसमा लामखुट्टेले अण्डा पारेर लामखुट्टे बढ्छ। त्यसकारण प्रत्यक दिन हाम्रो घर आँगन, कार्यालय वरिपरि घुमेर पानी जमेको ठाउँ कतै छ भने पानी भएको ठाउँ नष्ट गर्नुपर्छ।’ उनले थपे।
‘डेँगु बर्षायामको शुरुसँगै बढ्ने किटजन्य रोग हो । एडिस एजिप्टाई÷एल्बोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एक जना संक्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको अवस्था देखिन्छ । गत वर्ष जुलाई, अगष्ट र सेप्टेम्बरमा करिब ५४ हजारमा डेंगी संक्रमण देखिएको थियो । गत जुलाई १५ सम्म करिव तीन हजार केस रिपोर्टिङ भइसकेको छ ।’
डा.मरासिनीले डेंगी रोकथाममा सरकार गम्भीर भएर लागेको बताए। लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पु¥याउनुपर्ने बताए। डेंगी सरूवा रोग भएकाले आफ्नो ठाउँबाट सबैले सचेत भएर लाग्नुपर्ने बताए। उनले अस्पतालहरू पनि सतर्क र सुदृढ हुन जरूरी रहेको बताए।
‘डेंगी रोकथाम नै नभएको भन्ने त होइन। यो सरूवा रोग हो। हामीले यसमा काम गरेनौं भने विकराल अवस्था आउँछ थाम्नै नसक्ने अवस्था आउँछ। अपेक्षाकृत रूपमा केस बढ्दै जानु भनेको हामी पनि सजग हुनुपर्छ र रोकथाममा काम गर्नुपर्छ भन्ने हो। अस्पतालहरू पनि सुदृढ हुन जरूरी छ।
डेंगीको रोकथाममा स्थानीय तह र आम मानिसको योगदान नै बढी हुने हुनाले जबसम्म उहाँहरू सचेत हुनुहुन्न, डेंगी बिरामी सार्ने लामखुट्टेको वृत्ति विकास कसरी हुन्छ? र लामखुट्टेलाई कसरी हामीहरूले नियन्त्रण गर्ने भन्ने विषयमा आम जनताहरूको सचेतना पुग्दैन। तबसम्म नियन्त्रणको काम जटिल हुन्छ,’ उनले भने।
Discussion about this post