मोरङ साउन १६ गते ।
कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज बेलुका ५ बजे सकिदैछ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई दलको समर्थनमा मुख्यमंत्रीमा नियुक्तिका लागि दाबी हुन नसके धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दलका नेतालाई मुख्यमंत्रीमा नियुक्ति गर्ने प्रक्रिया शुरु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कोशी प्रदेशको प्रदेश सभाको अंकगणितका कारण सजिलै सरकार बन्न सक्ने स्थिति छैन । विभिन्न दलहरु बीच वार्ता र सम्वाद भईरहेको भनिए पनि ठोस निष्कर्ष नआई सकेको अवस्थामा आज बेलुका सम्म नयाँ सरकार कस्को बन्ने भन्ने चित्र स्पष्ट भईसकेको छैन ।
९३ सदस्यीय कोशी प्रदेशमा नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १२, राप्रपाको ६, नेकपा एकिकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक जना गरी ९२ जना र सभामुख रहेका छन् ।
कोशी प्रदेशमा सरकार गठनको दाबीका लागि ४७ जना सांसदहरु आवश्यक रहेकोमा दुबै गठबन्धनमा ४६÷४६ जना मात्र सांसद रहेकाले सरकार गठनको गाँठो नफुकेको हो ।
सर्वोच्च अदालतले साउन १७ गते सम्म नयाँ सरकार गठन गरिसक्न परमादेश दिएकोले प्रदेश प्रमुखको कार्यालयले संविधानका धारा १६८ को उपधारा २ वा ३ बाट सरकार गठन गरिसक्ने तयारी समेत गरेको छ ।
Discussion about this post