बाँके भदौ ६ गते ।
नेपालगन्ज भन्सार कार्यालयले एक वर्षमा सवैभन्दा धेरै डिजेल आयातबाट राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा डिजेल आयातबाट ६ अर्व ९७ करोड दुई लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार अधिकृत समेत रहेका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिए ।
तर, आव ०७८–०७९ को तुलनामा कम आयात भएको छ । यो आवमा एक लाख ७२ हजार २०८ किलोलिटर डिजेल आयात भएको थियो । तर, आव ०७९–०८० मा एक लाख ३९ हजार चार सय किलोलिटर डिजेल भित्रिएको सूचना अधिकारी शर्माले बताए । डिजेल आयातबाट आव ०७८–०७९ मा ६ अर्व ९७ करोड २८ हजार दुई सय रुपैयाँ राजस्व संकलन भएको थियो भने आव ०७९–०८० मा घटेर पाँच अर्व ८३ करोड १७ लाख ६९ हजार रुपैयाँमात्र राजस्व संकलन भएको छ ।
डिजेल पछि आयात धेरै हुनेमा चामल रहेको छ । गत आवमा भारतबाट चार अर्व ७३ करोड ६० लाख १० हजार मूल्यको ६ करोड १८ लाख ७९ हजार ९४० किलोग्राम चामल आयात भएको छ । अघिल्लो आव ०७८–०७९ मा नौँ अर्व ६२ करोड १० लाख ७२ हजार रुपैयाँको १७ करोड ११ लाख पाँच हजार ८९२ किलोग्राम चामल नेपाल भित्रिएको थियो ।
तेस्रो धेरै आयात हुनेमा चामल छ । गत आवमा ५४ करोड ८८ लाख नौँ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने आव ०७८–०७९ मा एक अर्व १४ करोड ७१ लख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी शर्माले बताए ।
आर्थिक वर्ष ०७८–०७९ मा पाँच अर्व ३३ करोड ७३ लाख ७४ हजार रुपैयाँको चार करोड ४५ लाख १४ हजार ५२५ किलोग्राम खाना पकाउने एलपिजी ग्यास आयात भएको थियो, तर गत आवमा चार अर्व ६५ करोड ६५ लाख ६ हजार रुपैयाँको खाना पकाउने ग्यास नेपालगन्ज नाकाबाट भित्रिएको थियो । यो अघिल्लो वर्षभन्दा ६८ करोड आठ लाख आठ हजार रुपैयाँ कम हो । एलपी ग्याँसबाट ८६ करोड ८५ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको पनि शर्माले बताए । तर, आव ०७८–०७९ मा ९९ करोड ५५ लाख ६४ हजार रुपैयाँ राजस्व उठेको थियो ।
त्यसैगरी, आव ०७८–०७९ मा पाँच अर्व १० करोड ५५ लाख ६८ हजार रुपैयाँको ५२ हजार सात सय ७६ किलोलिटर पेट्रोल आयात हुँदा आव ०७९–०८० मा चार अर्व ६३ करोड ७० लाख ६६ हजार रुपैयाँको जम्मा ४७ हजार तीन सय ३२ किलोलिटर पेट्रोल आयात भएको थियो । अघिल्लो आवमा तीन अर्व १६ लाख २४ हजार राजस्व संकलन भएकोमा गत आवमा दुई अर्व ६९ करोड ९५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।
भारतबाट गत आवमा आयात हुने बस्तु मध्ये छैठौँ स्थानमा मकै परेको छ । उनका अनुसार गत आवमा दुई अर्व नौँ करोड ९९ लाख ९४ हजार रुपैयाँको पाँच करोड ५० लाख ७१ हजार ४३० किलोग्राम मकै आयात भएको छ । मकै आयातबाट १० करोड ५६ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए । तर, आव ०७८–०७९ मा एक अर्व ८५ करोड २६ लाख ५९ हजार रुपैयाँको पाँच करोड ३० लाख ६८ हजार ५७ किलोग्राम मकै आयात भएको थियो । उक्त आवमा नौँ करोड ३१ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।
गत आवमा नेपालगन्ज भन्सार कार्यालयबाट ९३ करोड ६० लाख रुपैयाँको आलु नेपाल भित्रिएको छ । गत आव ०७९–०८० मा नेपालगन्ज नाकाबाट तीन करोड ७५ लाख ८५ हजार ८८ किलोग्राम आलु भित्रिदा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । तर, यो आर्थिक वर्ष ०७८–०७९ को भन्दा थोरै हो ।
अघिल्लो आवमा एक अर्व १० करोड ८३ लाख ५५ हजार रुपैयाँको चार करोड ४० लाख ९८ हजार ६९४ किलोग्राम आलु आयात भएको थियो । गत आवमा १५ करोड ६४ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका अधिकृत समेत रहेका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिए ।
नेपालगन्ज भन्सारबाट सामान आयातमा कमी आएपछि राजस्व पनि घटेको छ । गत आवमा चिनी आयातमा कमी आउँदा राजस्वमा समेत कमी आएको भन्सार कार्यालयले जनाएको छ । गत आवमा एक अर्व ५७ करोड ९९ लाख ६ हजार रुपैयाँको दुई करोड ६३ लाख ९० हजार ५२२ किलोग्राम चिनी आयात भएको थियो ।
यस आवमा ८९ करोड ६० लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । तर, आव ०७८–०७९ मा तीन अर्व पाँच करोड ८४ लाख ५७ हजार रुपैयाँको पाँच करोड ८८ लाख ६४ हजार ७४६ किलोग्राम चिनी आयात भएको थियो । उक्त आवमा एक अर्व ७३ करोड ३२ लाख २० हजार राजस्व संकलन भएको थियो ।
Discussion about this post