बाँके भदौ १३ गते ।
कुनै बेला नरैनापुरलाई पछाडी परेको भनेर चिनिन्थ्यो । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणमा पछाडी परेकोले उक्त ठाउँलाई बाँकेको कर्णाली भनेर चिनिन्थयो । तर अहिले नरैनापुर गाउँपालिकाले बाँकेका अन्य पालिकालाई टक्कर दिइरहेको छ । शिक्षामा फड्को मारेको यो पालिकाले स्वास्थ्यमा पनि अरु पालिकालाई उछिनेको छ ।
विरामी पर्दासमेत अस्पताल जान लजाउने यहाँका महिला अहिले बच्चा जन्माउन स्वास्थ्य संस्थामा जान थालेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बृद्धि भएपछि नवजात शिशु मृत्यूदर शून्यमा झरेको छ । गर्भवती महिलाले स्वास्थ्य मापदण्ड अनुसार नियमित रुपमा गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामा बच्चा जन्माउन थालेपछि नवशिशु मृत्यूदर शून्यमा झरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।
उनले आव ०७९–८० मा नवजात शिशुको मृत्यू नभएको बताए । आव ०७७–७८ मा १० र आव ०७८–०७९ मा दुई नवजात शिशुको मृत्यू भएको थियो ।
नरैनापुरमा स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्या बढेको छ । गत आर्थिक वर्षमा एक हजार दुई सय ८१ महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।
नरैनापुरका एक सय २८ दशमलव १ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको उनले बताए । उनका अनुसार आव ०७८–०७९ मा नरैनापुरका एक हजार दुई सय ४९ जना महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए ।
गाउँपालिका भित्र रहेका ६ वटा स्वास्थ्य संस्था मध्ये सवैभन्दा धेरै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रले सुत्केरी सेवा दिएको छ । उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा दुई सय ८८ जना गर्भवती महिलाले सुत्केरी सेवा लिएको साहले बताए । उनका अनुसार नरैनापुर स्वास्थ्य चौकीमा दुई सय ८५, मटेहिया स्वास्थ्य चौकीमा दुई सय ३०, गंगापुर स्वास्थ्य चौकीमा एक सय ८४, कटकुइँया स्वास्थ्य चौकीमा एक सय ४८ र कालाफाँटा स्वास्थ्य चौकीमा एक सय १० जना गर्भवतीले बच्चा जन्माएका छन् ।
आर्थिक वर्ष ०७७–०७८ मा पाँच र आव ०७८–७९ तथा आव ०७९–८० मा एक–एक जना सुत्केरी महिलाको मृत्यू भएको स्वास्थ्य शाखाले जनाएको छ ।
गर्भवती भएदेखि नियमित रुपमा स्वास्थ्य जाँच गराउने महिलाको संख्या पनि बढ्दो छ । स्वास्थ्य संस्थामा बच्चा जन्माउन आउन नमान्ने महिलाहरु पछिल्लो समय गर्भवती भएदेखि नियमित चार पटक जाँच गराउन थालेको उनले बताए ।
उक्त पालिकाका ८७ दशमलव २० प्रतिशत महिलाले नियमित जाँच गराएको स्वास्थ्य शाखाले जनाएको छ । ‘नियमित जाँच गराउनेमात्र नभई स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्या पनि बढेको छ,’ उनले भने, ‘पहिले स्वास्थ्य संस्थामा आउन करकाप गर्नु पथ्र्यो, अहिले हामीले भन्नु पर्दैन, आफू खुसी आउनेको संख्या बढ्दो छ ।’
उक्त गाउँपालिकाको नरैनापुर स्वास्थ्य चौकीमा सवैभन्दा धेरै एक सय ९३ दशमलव ९० प्रतिशत महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका छन् । भने, एक सय ४६ दशमलव ९ प्रतिशत गर्भवती महिलाले नियमित रुपमा गर्नुपर्ने चार पटक जाँच गराएका छन् ।
बाँकेको सुदूर पूर्वमा पर्ने यो पालिकामा मधेसी र मुस्लिम समुदायको बाहुल्यता छ । गर्भवती महिलाले नियमित जाँच गराएपछि कुपोषित जन्मिने बच्चामा पनि कमी आएको छ । गत आवमा ७.८ प्रतिशत र आव ०७८–७९ मा ९.१ प्रतिशत कम तौल भएका जन्मिएका थिए । गत आवमा कम तौलका ७.८ प्रतिशत बच्चा जन्मिएको तथ्यांक छ ।
गत आवमा २० वर्ष मुनीका ४५ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । भने, ति महिलाले परिवार नियोजनको उपाय अपनाएको स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ ।
एचआइभी जाँच गराउने गर्भवती महिलाको संख्या भने घटेको छ । गत आवमा ६३६ जना गर्भवतीले एचआइभी जाँच गराएका छन् । तर, आव ०७७–०७८ मा ७५९ र ०७८–०७९ मा एक हजार चार जना गर्भवती महिलाले एचआइभी जाँच सेवा लिएका थिए ।
गत आवमा पालिकाका ८६.९ प्रतिशत गर्भवती महिलाले आइरन सेवा लिएका छन् । ती महिलाले आइरनको १८० चक्की लिएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए । आइरन चक्की वितरण धेरै गर्नेमा नरैनापुर स्वास्थ्य चौकी रहेको छ । उक्त स्वास्थ्य चौकीले १४९ प्रतिशत महिलालाई आइरन चक्की वितरण गरेको तथ्यांक छ । त्यसैगरि लक्षमणपुर प्राथमिक स्वास्थ्य केन्द्रले ९८.८ र कालाफाँटा स्वास्थ्य चौकीले ९१.९ प्रतिशत महिलालाई आइरन चक्की वितरण गरेको छ ।
त्यसैगरी, आव ०७९–०८० मा १२६ दशमलव ८० प्रतिशत बालबालिकाले डिपिटी–हेप वी र हिब–३ खोप लिएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए । उनका अनुसार, आव ०७९–०८० मा १२० दशमलव ५६ प्रतिशत बालबालिकाले डिटी २ र डिटी २ प्लस खोप लगाएका छन् । आव ०७७–०७८ मा ९२ दशमलव ८४ र ०७८–०७९ मा ९५ प्रतिशत बालिबालिकाले उक्त खोप लिएका थिए ।
तर, विसिजी खोप लगाउने बालबालिकाको संख्यामा पनि कमी आएको छ । आव ०७९–८० मा १११ दशमलव ९० प्रतिशत बालबालिकाले विसिजी खोप लिएका छन् ।
आवमा ०७८–०७९ मा १२२ दशमलव ९० र आव ०७७–०७८ मा १५० दशमलव ३० प्रतिशत बालबालिकाले विसिजी खोप लिएका थिए । ‘खोपको बारेमा अभिभावकलाई जानकारी नभएको, खोप केन्द्रको अभाव, महिला स्वास्थ्य स्वयमसेविकाको अभाव र बसाई ब्यवस्थापन नभएकोले विसिजी खोप लगाउने बालबालिकाको संख्या बढ्न सकेन, तर पहिलेभन्दा पछिल्लो वर्षदेखि केहि सुधार भएको मान्न सकिन्छ,’ उनले भने ।
Discussion about this post