बाँके असोज १७ गते ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको अनिश्चितकालिन कर्फ्युका कारण जमुनाह नाकामा अलपत्र परेका भारतबाट काम गरेर फर्किने नेपाली मजदुरहरुलाई गन्तब्यसम्म पठाउन सुरु गरिएको छ।
कर्फ्यु लागेका कारण उनीहरु सिमाक्षेत्रमा रातभरी अलपत्र परेका थिए । एक मजदुरले भने, ‘मजदुरीका लागि भारतमा गएका थियौं, दसै मनाउन नेपाल फर्किदा सिमाबाट छिर्नै पाएनौं, हामी घण्टौंसम्म सिमामै अलपत्र पर्यौं ।’ उनी जस्ता थुप्रै नेपाली मजदुरले सिमाक्षेत्रमा रात बिताएका थिए ।
ईलाका प्रहरी कार्यालय जमुनाहा नेपालगन्जका ईन्चार्ज एवम् प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर बिष्टले कर्फ्युका कारण सिमाक्षेत्रमा रोकिएका नेपालीलाई गन्तब्यसम्म पुर्याउन सुरु गरिएको बताए । उनका अनुसार सिमा क्षेत्रमा रोकिएका नेपाली नागरिक झण्डै २ हजारको संख्यामा रहेका छन् ।
नेपालगन्जका यातायात ब्यवसायीसँग समन्वय गरेर सिमा क्षेत्रमा रोकिएका यात्रुलाई सुरक्षित गन्तब्यसम्म पुर्याउने काम गरिएको वरिष्ठ सई बिष्टले बताए । ‘करिव ५ सय जति यात्रुलाई ९ वटा बसमा जमुनाहादेखी राँझा चोकसम्म पठायौं, अझै १४/१५ सयको हाराहारीमा नाकामै छन्, यिनीहरुलाई गन्तब्यमा पठाउन थप बसहरु आउँदैछन्,’ उनले भने ।
भारतबाट फर्केका नेपालीले आफुहरु मध्यरातीबाट नाकामा अलपत्र परेको बताइरहँदा बरिष्ठ सई बिष्टले भने बिहान साढे ६ बजे मात्र सिमा क्षेत्रमा उनीहरु आईपुगेको दाबी गरेका छन् । अधिकांस नेपाली नागरिक भारतको सिमला लगायत ठाउँबाट आएका हुन् ।
नजिकिदै गरेको दसै मनाउनका लागि अधिकांस ब्यक्ती परिवार सहित फर्केका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले पुर्बमा राप्ती पुल, उत्तरमा राझा चोक, दक्षिणमा जमुनाहा नाका र पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटोसम्म कर्फ्यु लगाएको छ ।
कर्फ्यु लागेको बाहेकका ठाउँमा यातायातका साधन, बजार, उद्योग, ब्यवसाय तथा बिद्यालय सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कर्फ्यु लगाएपछि नेपालगन्जको जनजीवन सामान्य बनेको छ । ठाउँ–ठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन् ।
नेपालगन्ज उपमहानगर क्षेत्रको बजार, उद्योग ब्यवसाय, बिद्यालय लगायत सबै क्षेत्र बन्द छन् ।
Discussion about this post