बाँके कात्तिक १ गते ।
सुर्खेतका दिपक थापा भारतबाट आउँदै थिए । उनले दसैँका लागि भारतबाट थोरै सामान ल्याउँदै थिए । उनलाई नेपालगन्जको जमुनाह नाकामा खटिएका सशस्त्र प्रहरीले रोक्यो । उनले अनेक विन्ति विसाए । घर खर्चका लागि भएको भन्दै छोडिदिन हारगुहार गरे । भन्सार शुल्क तिर्नसमेत तयार भए, तर जमुनाह नाकामा खटिएका सशस्त्र प्रहरीले उनको विन्तिभाउलाई लत्याउँदै सामान उठाएर जवरजस्ती गाडीमा हाले र भन्सार कार्यालय पुर्याए ।
सुर्खेतका थापा एउटा प्रतिनिधि पात्र मात्र हुन् । काम गरेर फर्किदै गरेका सयौँ नेपाली नाकामा खटिएका सशस्त्र प्रहरीबाट दैनिक सास्ती खेप्न बाध्य छन् । जमुनाह नाकामा खटिएका सशस्त्र प्रहरीले हात्तीको देखाउने दाँत जस्तै जमुनाह नाकामा सर्वसाधरण नागरिकमाथि कडाई गरेको देखाएर तस्करीको सामान भित्र्याउन मद्दत गरिरहेको छ ।
‘मुख्य नाकामा कडाई गरेको देखाएर तस्करसँग मिलेर सशस्त्र प्रहरीले ठूलो परिमाणको सामान भित्र््याइरहेको छ । नेपालगन्जबाट गएको अवैध चिनी सुर्खेतमा बरामद हुनु पनि नेपालगन्ज नाकामा सशस्त्र प्रहरीले तस्करीलाई प्रश्य दिइरहेको छ भन्ने प्रष्ट हुन्छ,’ नेपालगन्जका एक ब्यापारीले भने, ‘सशस्त्र प्रहरीले हात्तिको देखाउने दाँत र चपाउने दाँत फरक भए जस्तै मुख्य नाकामा सर्वसाधारणलाई तर्साएर तस्करसँग मिलेमतो गरेर सामान तस्करी गराइरहेको छ । सशस्त्र प्रहरी अवैध चोरी पैठारी नियन्त्रणभन्दा कमाउ धन्दामा छ भन्ने ठोकुवा गर्न सकिन्छ ।’
जमुनाह नाकामा सशस्त्र प्रहरीले छोरी कुटेर बुहारी त्रसाएको नाटक गरिरहेको एक प्रत्यक्षदर्शीले बताए । उनले घर खर्चका लागि ल्याउने सर्वसाधारण नागरिकलाई दुख दिएर गृह मन्त्री र सशस्त्र प्रहरीका आइजीको आँखामा छारो हाल्ने काम बाहेक अरु नगरेको बताए । ‘सर्वसाधारणको सामान जफत गरेको देखाएर सशस्त्र प्रहरीले सेटिङमा ठूलो परिमाणको सामान भित्र्याउन सघाइरहेको छ । जमुनाह नाकामा छोरी कुटेर बुहारी त्रसाए जस्तै गरेर जनतामा भ्रम छर्ने काममात्र भएको छ,’ ति प्रत्यक्षदर्शीले भने ।
सशस्त्र प्रहरीले कमिसनका लागि सर्वसाधारणको सामान खोसेर भन्सार पुर्याउने गरेको पीडित बताउँछन् । भन्सार गराउनका लागि जमुनाह नाकामा सशस्त्र प्रहरी खटिएको छ । भारतबाट ल्याउन लागेको अवैध सामान नियन्त्रणमा लिएर भन्सार गराउने उद्देश्यले सरकारले सशस्त्र प्रहरीलाई त्यहाँ खटाएको हो, तर पक्राउ गरिएको सामान लिलाम गराउँदा आफूलाई कमिसन आउने भएकोले सशस्त्र प्रहरीले सर्वसाधारणको सामान भन्सार गर्न नदिएर जवरजस्ती भन्सार कार्यालय पुर्याउने गरेको सर्वसाधारणको गुनासो छ ।
सर्बसाधारण नागरिकसँग सय रुपैयाँ भन्दा बढी सामानको भन्सार शुल्क लिए पनि आफन्त र चिनेजानेकाहरुलाई सशसत्र प्रहरीले हजारौँ रुपैयाँ बराबरको सामान निर्वाध रुपमा लैजान दिने गरेको प्रत्यक्षदर्शी बताउँछन् । सर्बसाधारण नागरिकले दैनिक रुपमा उपभोग गर्नका लागि सामान ल्याउँदा कडा निगरानी गर्ने भन्सार कर्मचारी र सुरक्षाकर्मीले सिमापारीबाट सेटिङमा भने करोडौं मुल्यका सामान भित्र्याउने गरेको नाम नबताउने शर्तमा एक जना तस्करले बताए । उनका अनुसार सशस्त्र प्रहरीले एक जना तस्करसँग मासिक तीन लाख रुपैयाँ लिदै आएको छ ।
नेपालगन्जस्थित नेपाल–भारत सिमाक्षेत्र जमुनाहादेखी चौलिका चोकसम्म भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी आधा दर्जनबढी चेक पोष्टहरु राखिएका छन् । यिनै चेकपोष्ट भएर भन्सार कर्मचारी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करले भन्सार शुल्क नतिरेरै ठुलो परिमाणको सामान भित्र्याउने गरेका छन् । भन्सार सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी बललाई विशेष जिम्मेवारी दिएको छ ।
नेपालगन्ज भन्सार सुरक्षाका लागि डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालित छन् । यस्तै बाँकेको विभिन्न सिमाक्षेत्रमा सशस्त्र प्रहरीका बिओपी स्थापना छन् । तर यिनै सशस्त्र प्रहरीहरु तस्करसँगै मिलेर सामान तस्करीमा संलग्न हुने गरेको स्थानीयको गुनासो छ ।
भारतबाट अबैध रुपमा सामान भित्रिरहँदा यहाँका उद्योगी, ब्यवसायी समेत निराश भइरहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सिमा क्षेत्रमा थरी–थरीका चेकपोष्ट हुँदा पनि ठुलो परिमाणको सामान अबैध रुपमा भित्रिनु लज्जाको विषय भएको बताउँछन् । ‘चोरी निकासी पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ भनेर हामीले बारम्बार भन्दै आएका छौं, तर पनि नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने ‘अबैध रुपमा सामान भित्रिदाँ निजी क्षेत्रले जसरी घाटा ब्यहोर्नु परेको छ, सरकारले पनि ठुलो परिमाणमा राजस्व गुमाइरहेको छ ।’
कर्मचारी र सुरक्षाकर्मीको मिलेमतो बिना सिमापारीबाट अबैध रुपमा सामान भित्रिनै नसक्ने उनको जिकिर छ । पछिल्लो समयमा बाँकेका विभिन्न अबैध नाकाबाट समेत तस्करले अबैध रुपमा सामान भित्र्याउने क्रम चलिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्लाको नरैनापुर, डुडुवा, जानकी, खजुरा गाउँपालिका अन्र्तगत पर्ने अबैध सिमा नाकाबाट पनि सुरक्षाकर्मीको मिलेमतोमा सामान भित्रिने क्रम चलिरहेको बताइएको छ । सिमापारीबाट अबैध सामान भित्रिरहेको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा नेपालगन्ज भन्सार कार्यालयका प्रमुखको फोन उठेन । भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले भन्सार नियम अनुसार सामान जाँचपास गरेर भन्सार शुल्क लिने गरिएको दाबी गरे ।
Discussion about this post