काठमाडौं कार्तिक १३ गते ।
आयोजक भारतले साबिक विजेता इंग्ल्याण्डलाई हराउँदै एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
आइतबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनले हराएको हो । भारतले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ३४.५ ओभरमा सबै विकेट गुमाएर मात्र १२९ रन बनाउन सक्यो । इंग्ल्याण्डले बिना कुनै विकेट गुमाएर ३० रन बनाउँदै राम्रो सुरुवात गरे पनि त्यसपछि भने लगातार विकेट गुमाउँदै गयो ।
इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्वाधिक २७ रन बनाए । त्यस्तै डेविड मलान र डेविड विलीले १६–१६, मोइन अलीले १५ तथा जोनी बेयरस्टोले १४ रनको योगदान दिए । भारतका लागि मोहम्मद शामीले ४, जसप्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो ।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए । उनले १०१ बलको पालीमा १० चौका र ३ छक्का हिर्काए ।भारतको सुरुवात भने राम्रो हुन सकेन । मात्र ४० रन बनाउँद भारतले शुभमन गिल, विराट कोहली र श्रेयस ऐयरलाई गुमाएको थियो ।
त्यसपछि रोहितले केएल राहुलसँग मिलेर भारतको पाली सम्हालेका थिए । केएल राहुलले ३९ रन बनाए । त्यस्तै, सूर्यकुमार यादवले ४९ तथा जसप्रित बुमराहले १८ रन बनाउँदै भारतलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए ।
इंग्ल्याण्डका लागि डेभिड विलीले ३ तथा क्रिस वोक्स तथा आदिल रसिदले २–२ विकेट लिए ।जीतसँगै भारत ६ खेलबाट अधिकतम १२ अङ्क बटुल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगितामा भारत एक मात्र अपराजित टोली हो । इंग्ल्याण्ड भने ६ खेलबाट मात्र २ अङ्क बटुल्दै अङ्क तालिकाको पुछारतिर रहेको छ ।
Discussion about this post